काठमाडौंका सबै सरकारी अस्पताल कोरोना अस्पताल घोषणा गरिँदै

ग्रामीण भेगका जनताको स्वास्थ्य सेवाको जिम्मा कस्ले लिने ?



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना संक्रमण प्रवेश गरेको आज ठ्याक्कै ८ महिना १८ दिन भयो । सरकारले यो अवधिमा पटक पटक लक डाउन गर्ने, खोल्ने जस्ता कामलाई ठूलै उपलब्धिको रुपमा लिए पनि लकडाउनका समयमा जस्स्वास्थ्यका बिषयमा खासै काम नगरेकै कारण अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको विज्ञहरुको ठम्याई छ ।

कोरोनालाई सरकारले ठेक्कापट्टा गर्ने गराउने र धनकमाउने माध्यम बनाएकै कारण आज देश र सर्वसाधारण जनता ठूलो मारमा परिरहँदा औलामा गर्न सकिने व्यवसायी, उद्योगी, नेताहरु भने मालामाल भएको समेत बिज्ञहरुले कडा शब्दमा आलोचना गरेका छन् ।

मुखैमा आएको हिन्दुहरुको महान चाड, दशै, तिहार, छडका बेलामा आफन्तजनलाई भेटघाट हैन टाढैबाट नमस्कार गर्ने र सामाजिक दुरी कायम गर्दै धर्म, संस्कृतिको जगेर्ना गर्नका लागि नेपाल सरकारले आवहान गरेपनि खासै जनताको मन छुन सकेको पाइन्न । सरकारले जो जहा छ त्यही बसेर दशै मनाउन दैनिक रुपमा स्वास्थ्यमन्त्रालयको मिडिया ब्रिफीङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भन्न छोड्नुभएको छैन ।

तर जनताले मान्ने र मान्ने पर्ने कुनै ठोस आधार नबनेका कारण दैनिक जसो बिना सजकता गाउँको यात्रा तय भैरहेको छ । यो दृश्य सरकारले पनि नदेखेको भने होईन । जनताले किन सरकारले जो जहाँ छ त्यहि बस भनेको नियम पालना गर्दैनन ? वास्तवमै सरकारले जनतालाई यथास्थानमा बस्ने आधार कहाँ तय गरेको छ ?

कोरोना संक्रमण भयो भन्दा त घरभेटीेले घरबाट निकाल्दा समेत टुलुटुलु हेरेर नदेखेझै गर्ने सरकारका भनाईले आफ्नो परिवारको मुखमा माड नलाग्ने देखेरनै सर्वसाधारण जनता गाउँफर्क अभियानका साथ अघि यात्रा तय गरेको देखिन्छ । सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताउँनुभयो । तर के कस्तो तयारी भएको छ र अन्य बिरामी कहाँ जान्छन भन्ने बारेमा उहाँले प्रष्ट पार्नुभएन । यो डा.गौतमको व्यक्तिगत निर्णय नभै सरकारले दिएको निर्देशनको पालना हो भन्ने स्पष्ट देखिन्थ्यो ।

डा.गौतमले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड –१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरि कोभिड अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय भएको बताउँनुभयो । सरकार अझै पनि काठमाडौमा मात्र केन्द्रित भएकै कारण कोरोना संक्रमण एकैपटक भयावह भएको बुझ्न गाह्रो नपर्ने ग्याष्ट्रोलोजिष्ट डा. मधु घिमिरेले पटक पटक औल्याउँदै आउँनुभएको छ ।

त्यसैगरी कोभिड अस्पताल धुलिखेलका डा.राम गुरुङले पनि सामाजिक संजालमा स्टाटसनै लेखेर कोरोनालाई सामान्य नमानौ, अब अस्पतालका बेड भरिभराउ भैसके कम्तिमा माक्स लगाएर सभ्यताको पहिचान दिन आग्रह गर्दै आउँनुभएको छ । त्यसै गरि धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख संन्दीप केसीले पनि फेसबुक स्ट्याटसबाट नेता र सर्वसाधारण जनतालाई लक्षित गरि कोरोना नफैलियोस भनेर हामी रातदिन पिपिईमा गुम्सिएर तपाईहरुलाई बचाउन तल्लिन छौ तर तपाईहरु भने एउटा माक्स समेत नलाएर कोरोना फैलाउँदै हुनुहुन्छ भन्दै मार्मिक भावना राख्नुभएको छ ।

यता कला क्षेत्र देखि पत्रकारितामा समेत परिचित कृति भट्टराईले कोरोना केही होईन नभन्नोस, माक्स लगाउने र नियमित साबुन पानीले हात धुने गर्नुस् । मैले कति सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भयो र अहिले कोरोना जितेर यो सन्देश दिँदै छु । मेरो ६५ बर्षिय आमाले पनि कोरोना केहो जान्नुभएको थिएन तर संक्रमण भयो । त्यसैले कोरोना परिचय दिएर आउदैन आफैले सतर्कता अपनाएर टाढा राख्ने हो भन्नुभएको छ ।

कोरोना केही होईन भनेर मान्छेले हेलचेक्र्याई गरेकै कारण देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगीसकेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकोछ । संक्रमित मध्ये हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगीसकेको छ ।
यो अवस्था आईसक्दा पनि सरकारले देखेको नेपाल अझै पनि काठमाडौं उपत्यका मात्र रहेको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमले पढेर सुनाउनुभएको सन्देशले स्पष्ट पार्छ । सरकारले आम नागरिकलाई नेपाली र सबै नेपालीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा र सम्बोधन नगरेसम्म कोरोना संक्रमणको न्यूनीकरण सम्भव देखिन्न । डा.गौतमले काठमाडौमा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने सरकारले निर्णय गरेको छ भनिरहँदा ग्रामिण भेगका जनताको स्वास्थ्यप्रति सम्बोधन खोई ?

प्रतिक्रिया दिनुहोस्