चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र



भक्तपुर, (नेस)
दशैं–तिहार नजिकिएसँगै भक्तपुरमा बजार अनुगमन तीव्र पारिएको छ । आइतबार सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वको टोलीले नगरपालिकाभित्रका विभिन्न ठाउँमा अनुगमन गरेको छ । टोलीले कटुञ्जे, चुनदेवी, पाण्डुबजारलगायतका क्षेत्रका एक दर्जन पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो ।
उहाँले बजारमा कालोबजारी भए नभएको बुझेर त्यस्तो पाइए सुधार गर्न अनुगमन गरिएको बताउनुभयो ।टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
टोलीले म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेस्ट मिनिमार्ट, एज बि स्टोर, युनिक स्टोर, सृष्टि सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरी कमजोरी सुधार्न निर्देशन दिएको छ ।
टोलीमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु कार्यालय, उपभोक्ता मञ्चका प्रतिनिधिलगायतका सरोकारवालाको सहभागिता रहेको थियो । बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिकाभित्र एक सातासम्म निरन्तर गरिने उपप्रमुख बस्नेतले बताउनुभयो ।
जिल्लाका भक्तपुर, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले पनि अनुगमनलाई तीव्र पारेका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा चारवटै नगरपालिकामा तालिका बनाएर सम्बन्धित नरपालिकाको नेतृत्वमा बजार अनुगमन तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
जिल्लाका चारवटै नगरपालिकाले अनुगमनका क्रममा व्यवसायीहरूले म्याद नाघेका, मूल्यसूची नराखी बिक्री गर्ने गरेको, उपभोक्तालाई बिल दिने व्यवस्था नभएको र उपभोग्य वस्तुहरूको कालोबजारी गरी बिक्रीवितरण गर्ने गरेको पाइएको बताएका छन् ।
कोरोना महामारीका बेला पनि स्वास्थ्य सतर्कताविना नै व्यवसायीहरूले सरसमानहरू बिक्री गरिरहेको उपभोक्ताको गुनासो रहेको छ । उपभोक्ताले बजार अनुगमन गर्दा कालोबजारी नियन्त्रण हुने गरी र उपभोक्ताको हित हुने गरी प्रभावकारी तरिकाले अनुगमन गर्नुपर्ने माग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्