७१ वर्षपछि फेरि पहिरो: डरले गाउँ नै छाडेर बसाइँ सर्दै पीडितहरु



दुर्गाप्रसाद शर्मा, फलेबास, पर्वत

२००६ सालमा गाउँमाथि जंगलमा रहेको पहाडै खसेर घरबस्ती पु¥यो । एउटा परिवारका ९ जनाले ज्यान गुमाए । गाउँका केही बसाइँ सरे र केही परिवार पहिरो रोकिएपछि बसिरहे । अहिले ७१ वर्षपछि त्यही ठाउँमा पहिरो जाँदा गाउँले बसाइँ सर्न बाध्य भएका छन् ।

पर्वतको फलेबास नगरपालिका–१० कुर्घाको फल्ना साहुथरका बासिन्दालाई पुख्र्यौली जमिन छाड्ने कि बस्ने भन्ने चिन्ताले दिनरात सताएको छ । भदौ २८ गते गएको पहिरोले बस्ती नै जोखिममा परेपछि केही परिवार गाउँ छाडेर चितवन बसाइँ सरेका छन् भने केही परिवारहरु अन्योलमा छन् ।

‘पहिरो गएपछि १२ दिनसम्म त घर छाडेर छिमेकी गाउँमा गएर बस्यांै’, पहिरो पीडित सीतादेवी शर्मा भन्नुहुन्छ– ‘पानी परेपछि धेरै दिन त पकाएको भात छाडेर पनि हिँड्यौं, अब घर छाडेरै हिँड्नै पर्ने अवस्था आयो ।’ भदौ २८ गते राति गएको पहिरोले घर पुरेपछि रामचन्द्र रेग्मीको परिवार बसाइँसराइ गरेर चितवन गइसकेको छ । गाउँमा बस्ने अवस्था नभएपछि छिमेकी रेग्मी चितवनमा गएर भाडाको घरमा बसेको शर्माले बताउनुभयो ।

गाउँभन्दा एक किलोमिटरमाथि काउले जाने मोटरबाटोबाट शुरू भएको पहिरो बीचमा आएपछि रूखमा ठोक्किएर दिशा परिवर्तन गरेका कारण मात्रै गाउँका धेरै घर जोगिएका छन् । ‘पहिरोले रुट परिवर्तन नगरेको अवस्थामा २४ घर रहेको सबै बस्ती नै बगाउने अवस्था थियो’, पीडित कृष्णराज शर्माले भन्नुभयो– ‘हामी भाग्यले मात्रै बाँचेका हौं, अब पनि पानी पर्दा घर छाडेर हिँडिरहेका छौं ।’ रातको समयमा ठूलो आवाजसहितको पहिरो आएको सुनेर घर छाडेर ६० जनाले ज्यान जोगाउन सफल भएको शर्माको भनाइ छ ।

सबैलाई होहल्ला गरेर घर छाडेर सुरक्षित स्थानमा पुगेका थिए । पहिरोले स्थानीय रामचन्द्र रेग्मी, गोपालप्रसाद पौडेल, गोविन्द पौडेल, रामेश्वर शर्मा, भीमबहादुर क्षत्रीको घरमा प्रत्यक्ष क्षति पुगेको छ । अहिले २४ घर विस्थापित हुने अवस्थामा छन् ।

गाउँलेले पहिरोको संरक्षण र भूर्गभविद्ले दिने सल्लाहका आधारमा घरमा बस्ने वा गाउँ नै छाडेर जाने भन्ने विषय टुंगोमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । ‘हामीलाई यहाँ बस्ने कि छाड्ने भन्ने निधो विज्ञबाट चाहिएको छ।’ –वडाध्यक्ष शालिग्राम शर्माले भन्नुभयो ।

यसैबीच बस्ती नै जोखिममा परेको फल्ना साहुथरको पहिरोको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मासहितको टोलीले अनुगमन गरेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र खानी तथा भूगर्भ विभागको टोलीसहित गाउँमा पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले विज्ञले दिने प्रतिवेदनका आधारमा बस्ती स्थानान्तरण वा संरक्षणका लागि आफूले तीनवटै सरकारसँग पहल गर्ने आश्वासन दिनुभयो ।

‘बस्ती जोखिममा परेको अवस्थामा संरक्षण वा स्थानान्तरण जे गर्नुपर्छ मेरो ठाउँबाट पहल गर्छु’, उहाँले भन्नुभयो– ‘जोखिममा रहेका बस्तीलाई एकीकृत गरी सुरक्षित बस्ती विकास गर्न जरुरी छ ।’ गण्डकी प्रदेश सरकारले बस्ती विकास र संरक्षणका लागि ठोस कार्यक्रमसहित सहयोग गर्ने मन्त्री लम्सालले पीडितलाई आश्वासन दिनुभयो ।

विज्ञको टोली लिएर गृहजिल्लामा बाढी र पहिरोको क्षति अवलोकन गर्न आउनुभएका अध्यक्ष तिमिल्सिनाले फलेबासको वडा नं ३ चुरी, जलजला गाउँपालिकाको नाङ्लीबाङ, धाइरिङ, माझफाँट र बाँसखर्कमा पहिरोले जोखिममा परेका बस्तीहरुको पनि अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्