नेपालमा ५ वर्षभित्र व्रेष्ट क्यान्सर हस्पिटल निर्माण हुने



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेटौंडाका व्यबसायी अरुणराज सुमार्गी १५ वर्षअघि भारतबाट सुरु भएर हाल २० देशमा सञ्जालमार्फत् काम गर्दै आएको एसोसिएसन अफ अलायन्स क्लब इन्टरनेसनलको संस्थापक गभर्नर चयन हुनुभएको छ ।

‘सर्भिस फर पिपुल’ नारासहित काम सुरु गरेको अलायन्स इन्टरनेसनल नेपालले नेपाल सरकारसँगको सहकार्यमा ५ वर्षभित्र विदेशी दाता र आफूहरुबाट रकम संकलन गरी व्रेष्ट क्यान्सर हस्पिटल निर्माण गर्ने लक्ष्य लिएको गभर्नर सुमार्गीले बताउनुभयो । ‘५ वर्षभित्र व्रेष्ट क्यान्सर उपचार हुने प्रविधियुक्त हस्पिटल बनाएर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ,’ गभर्नर सुमार्गीले भन्नुभयो ।

भर्चुअल कार्यक्रम गरेर नेपालमा एसोसिएसन अफ अलायन्स क्लब इन्टरनेसनल नेपालको औपचारिक घोषणा गरिएको हो । सुमार्गी संस्थापक गभर्नर रहने गरी गठित कार्यसमितिको प्रथम उपगभर्नरमा आर्किटेक्ट इञ्जिनियर किच चित्रकार, दोस्रो उपगभर्नरमा एनजीओका ज्ञाता नन्दराज पोखरेल र तेस्रो उपगभर्नरमा महिला उद्यमी धन आचार्य हुनहुन्छ ।

सचिवमा आईटी इञ्जिनियर दिनेश लम्साल र कोषाध्यक्ष आईटी इञ्जिनियर राहुल रेग्मी र पीआरओमा सुष्मा कोइराला हुनुहुन्छ भने काठमाडौंबाट कृष्ण बिश्वकर्मा, पोखराबाट महेश पौडेल, बीरगञ्जबाट राघव आचार्य, पोखराका होम सापकोटा र हेटौंडाबाट गौरी चिमोरिया सदस्य रहनुभएको छ ।

एसोसियसन अफ अलायन्स क्लब इन्टरनेसनल अध्यक्ष थिरुपति राजु प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्वअध्यक्ष कुल्दीप सिंह, अनुप मित्तल, एसी ओहरी, सचिव बाला गंगाधर शास्त्री, कोषाध्यक्ष आर माथिवन, भीएम राव र पंकज श्रीवास्तव अतिथि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्