अमेरिकी राष्ट्रपति चुनावको दोस्रो भर्चुअल बहस रद्द



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा राष्ट्रपति चुनावपूर्व अक्टोबर १५ मा हुने भनिएको दोस्रो राष्ट्रपतीय बहस रद्द गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जोय बाइडनबीच हुने भनिएको भर्चुअल डिबेट कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले रद्द गर्ने फैसला गरेको सञ्चार माध्यमले जनाएका छन्।
कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले अक्टोबर १५ मा मायामीमा प्रस्तावित राष्ट्रपतीय बहस भर्चुअल आयोजनाको घोषणा गरेको थियो। सीपीडीले दोस्रो राष्ट्रपतीय वादविवाद टाउन मिटिङअन्तर्गत गराउने जसमा उम्मेदवारले कुनै पनि स्थानबाट हिस्सा लिने बताएको थियो। तर, डोनाल्ड ट्रम्पले भर्चुअल राष्ट्रपतीय बहसमा भाग नलिने घोषणा गरेका हुन्।
ट्रम्पले भर्चुअल वादविवादमा आफ्नो समय बर्बाद नगर्ने बताएका हुन्। दोस्रो वादविवादमा आफूले बाइडनलाई हराउने ट्रम्पले बताएका छन्। बहस रद्द गरिएको विषयमा बाइडनले कमिसनका तर्फबाट आएको सल्लाह आफूले मान्ने प्रतिक्रिया दिएका थिए। अमेरिकामा नोभेम्बर ३ मा चुनाव हु“दै छ।
पहिलो राष्ट्रपतीय बहसमा भाग लिएपछि ट्रम्पमा कोरोना भाइरस संक्रमित पाइएको थियो। कोरोना पोजिटिभका बाबजुद उनको लापर्बाही व्यवहारलाई लिएर धेरै विवाद उठेको थियो। ट्रम्प करिब चार दिन अस्पतालमा बसेका थिए, त्यसपछि उनलाई ह्वाइट हाउसमा सिफ्ट गरिएको थियो। दोस्रो बहस रद्द भएकोले अबको तेस्रो बहस अक्टोबर २२ मा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्