पहिरो पीडितलाई सहयोग



अमृत अर्याल , स्याङजा ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । क्लबले असोज ८ गते वालिङ १४ तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका बाँकी सदस्यलाई नगद तथा खाद्यान्न सहयोग गरेको हो । पहिरोमा पुरिएर एकै घरका नौ जनाको ज्यान गएको र परिवारका बाँकी दुई जनालाई क्लबले राहतस्वरुप रु. २५ हजार नगद तथा खाद्यान्न तमादीमा पुगेर उपलब्ध गराएको हो ।

नगद तथा खाद्यान्न वितरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पहिरोले ठूलो जनधनको क्षति गरेकोप्रति दुःख ब्यक्त गर्नुहुँदै नगरपालिकाले बासस्थानको ब्यवस्थापन गर्ने बताउनुभयो ।

“पहिरोबाट परिवार गुमाएका वा घर पुरिएका ब्यक्तिहरु अहिले छिमेकी तथा विद्यालयमा बस्दै आउनुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “उहाँहरुको घर बनाउनका लागि जग्गाको खोजी भईरहेको छ जग्गा प्राप्त भएपछि घर बनाउने तयारी भईरहेको छ ।” उहाँले पीडामा रहेको परिवारलाई मानवीय नाताले सहयोग गर्नुभएकोमा लायन्स क्लब अफ पोखरा आदर्श चौतारीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

ज्यान गुमाएका परिवारका सदस्यलाई ठूलो पीडा परेको छ उहाँहरुले अहिले खुलेर बोल्न सक्ने अवस्थामा पनि नरहेकाले स्थानीय सरकारको रुपमा रहेको वालिङ नगरपालिकाले अभिभावकको भूमिका खेल्ने प्रतिबद्धता नगर प्रमुख खाँणले जनाउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष मोहनराज पौडेलले पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले पीडामा हिम्मत नहारीकन अगाडि बढ्ने मानिसहरु सफल बनेका उदाहरण प्रशस्तै रहकाले सोही अनुसार अगाडि बढ्न सुझाव दिंदै आगामी दिनमा पनि लायन्सले सक्दो सहयोग गर्दै जाने विश्वास दिलाउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रिजनल चियर पर्सन बासुदेव कोईरालाले पीडित परिवारको पीडामा थोरै भएपनि मल्हम लगाउनका सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

क्लबका सचिव दामोदर आचार्यले पीडित परिवारको पीडालाई आफ्नै पीडा सम्झिएर लायन्स क्लबका सदस्यहरुद्वारा संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सहयोग रकम तथा खाद्यान्न स्वीकार गरी ग्रहण गरेकोमा पीडित परिवारप्रति आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक सुशील कोईरालाले मानवीय सेवा नै धर्म ठानेर यहाँका पीडित परिवारलाई सहयोग गर्नुपर्छ भन्ने पवित्र भावनाले क्लबमा प्रस्ताव लगेको बताउँदै सहजै पारित गर्ने क्लबका पदाधिकारी तथा सहयोग स्वीकार गर्ने परिवारजनप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गत असोज ८ गते विहान तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका नौ जनाको पुिरएर मृत्यु भएको थियो भने छोरी मनिषा नेपालीलाई स्थानीयले घाईते अवस्थामा उद्दार गरेका थिए । परिवारका अन्य सबै सदस्यको निधन भएपछि रोजगारीको शिलशिलामा भारतमा रहेका भोजराज नेपाली र घाईते अवस्थामा उद्दार गरिएकी मनिषा नेपाली अहिले तमादीस्थित फूलबारी आधारभूत विद्यालय जिमिरेमा बस्दै आउनुभएको छ । उक्त पहिरोमा परी अन्य दुई घर पनि पुरिएका छन् । पहिरोले घरहरु पूर्णरुपमा क्षति भए भने पशु चौपायाहरु पनि पुरिएर मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्