कुँवरद्वारा १४ सय ५० जनालाई राहतवितरण



नेपाल समाचारपत्र, काठमाडौं
वाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले शनिबार २३औं चरणको राहतवितरण गर्नुभएको छ । उहाँले अहिलेसम्म १४ सय ५० जनालाई राहत वितरण गरिसक्नुभएको छ ।
चक्रपथ सरसफाइ अभियानको आयोजनामा भएको कार्यक्रममा नौमती बाजा समूहलगायतत ५० जनालाई राहतवितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको त्रासपछि मानिसको दैनिकी संकटपूर्ण भएकाले राहत वितरण गरिएको उहाँको भनाइ छ । उहाँले राहत वितरणसँगै रक्तदान अभियान पनि चलाउनुभएको छ । पाँचपटकमा गरी १ सय ६३ जनाले रक्तदान गरिसक्नुभएका उहाँ नेपाल हेभिइक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक पनि हुनुहुन्छ ।

नौमती बाजा बजाउनेको पेसा संकटमा परेकाले राहत स्वरुप दाल, चामल, तेललगायतका सामग्री उपलव्ध गराइएको जनाइएको छ । बागमती प्रदेशसभाका विपक्षी दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नौमती बाजा बजाएर गुजारा गर्ने एक महिलाकी छोरीलाई मिर्गौलाको समस्या भएपछि उनका लागि पनि नगद जुटाइएको थियो । प्रमुख अतिथि बानियाँले २ हजार, निर्माण व्यवसायी हिरानन्द महर्जनले ५ हजार र कुँवरले पनि २ हजार रुपियाँ सहयोग गरेका थिए ।

प्रमुख अतिथि कांग्रेस नेता बानियाँले नौमती बाजा बजाउनेलाई कला संस्कृतिको जगेर्ना गर्न भन्दै सहयोगस्वरुप ५ हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो ।

उहाँले नौमती बाजा बजाउने पुरानो चलन र संस्कृति भए पनि पछिल्लो समयमा लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । बानियाँले जुनसुकै जातजातिले पनि बाजा बजाएर आफ्नो कलालाई देखाउन सकिने भन्दै बाजा संरक्षण अहिलेको चुनौती भएको उल्लेख गर्नुभयो । उहाँले त्यो समूहलाई प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउनका लागि पहल गरिदिने समेत स्पष्ट पार्नुभयो ।

बानियाले कुँवरको कामको उच्चप्रशंसा गर्नुभयो। उहाँले राहत वितरणसँगै चक्रपथ सरसफाइ अभियानले अलग्गै पहिचान बनाएको बताउनुभयो । उहाँले कुँवरको जस्तै अन्य व्यक्ति तथा समुदायलाई पनि सँगै मिलेर सामाजिक सेवामा लाग्न पनि आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्