अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक



काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रीना चौधरी पहिलो, बूढानीलकण्ठ स्कूल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत सुश्री नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल बेनी म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हसिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुयभयो ।

वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल पोखराका सौगत गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी सुश्री रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन् । ती विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने उहाँले सुनाउनुभयो ।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत पठाएका थिए । चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए । दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्