भीरकोटको फोहोरमैला व्यवस्थापन हुदैं



अमृत अर्याल, स्याङजा ।

जिल्लाको भीरकोट नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण गर्ने भएको छ । हालै मात्र फोहरमैला व्यवस्थापन केन्द्र प्रशासकिय भवनको शिलन्यास गरिएको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रशासकिय भवनको शिलन्यास गर्नुभएको हो । भवनको शिलन्यास गर्दै मन्त्री लम्सालले तिनै तहको सरकारबीचमा समन्वय भएमात्रै समृद्ध नेपाल सुखी नेपाली संभव भएको बताउनुभयो । मन्त्री लम्सालले केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर समृद्धि हाँसिल गर्न सकिने भन्दै पर्यटनका माध्यमबाट समृद्धि र विकास संभव भएको बताउनुभयो ।

पर्यटनको विकासका लागी सरकार लागिपरेको भन्दै मन्त्री लम्सालले कोटैकोटले भरिएको स्याङ्जा पर्यटनको संभावनायुक्त जिल्ला भएको तथा जिल्लाको मध्यभागमा रहेको भीरकोटमा भएका धार्मिक तथा ऐतिहासिक पर्यटनको विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय पर्यटनको विकासका लागी भीरकोट लागिपरेको भन्दै सरसफाई पर्यटनको मुख्य आधार भएको बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, ‘भीरकोटले सरसफाईका लागी अगाडि सारेको कदम प्रशंसनीय रहेको छ । पर्यटनले रोजगारीको सृजना गर्छ ।’

कार्यक्रममा गण्डकी प्रदेश सांसद दिपक चर्तीमगर, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रि, नेकपाका नगर अध्यक्ष मिनप्रसाद कोईराला, कागे्रसका नगरसचिव श्यामकाजी अधिकारीलागयतले बोल्नुभएको थियो । साथै मन्त्री लम्सालले भीरकोटको गडहरे गुफा र स्वरेक मैदानको समेत अवलोकन गर्नुभएको छ । भीरकोटले फोहोरबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपैँया आम्दानी गरेको छ भने २ लाख ५० हजारको फोहोर विक्रि गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

प्रशासकिय भवन निर्माणका लागी १ करोड ९९ लाख ५५ हजार १ सय ३० रुपैँयाको बोलपत्र आव्हान भएको छ । प्रशासकिय भवनसंगै पानी पोखरी, शौचालय, कल्भड, ल्याण्ड फिल्ड साइडको भित्रि बाटो ग्राभेल हुनेछ । २४ रोपनी ९ आना एक पैसाको जग्गा नगरपालिकाले ५१ लख १५ हजार ६ सय रुपैँयामा खरिद गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ३९ लाख ७६ हजार र ७६/०७७ मा २० लाख रकम विनियोजन गरेको थियो । अहिलेसम्म सिसौघारीमा भवन निर्माण, पार्क निर्माण, कम्पाउण्ड वाल, र शौचालय निर्माण भईसकेको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगको विशेष अनुदान शिर्षकबाट प्राप्त भएको अनुदान रकम ०७६/०७७ को आउन शुरु भएको स्वकृत अनुदान ३ करोड रहेको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताउनुभयो । आर्थिक वर्ष ०७६/०७७ मा बोलपत्र भएको रकम १ करोड ६७ लाख ३८ हजार १ सय ४ मा ९६ लाख ३८ हजार ४ सय ६९ रुपैँयामा सम्झौता भई हाल ल्याण्ड फिल्ड, बाहिरी कम्पाउण्ड निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्