वालिङ नगरपालिकाको सबै वडामा नर्सरी



अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ९ र १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो । स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।

नर्सरी मार्फत गाँउका कृषकहरुलाई बिरुवा बितरण गरी उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । वालिङ नगरपालिकाका १४ वटै वडाका कृषक तथा कोरोना प्रभावितहरुलाई दीगो रुपमा आम्दानी तर्फ लैजाने परियोजनाको मुख्य उद्देश्य रहेको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।

वडा नं १३ को कटौजेमा भएको कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता गैह्रे, समाजसेवी बालानन्द डुम्रे, अगुवा कृषक गणेश डुम्रे, टिकाराम घर्ती र शुक्र बहादुर जिटी लगायतले तरकारी खेती आयआर्जनको सजिलो उपाय भएको बताउनुभयो ।

त्यस्तै वडा नम्वर ९ को कार्यक्रममा दियालो युएनडिपी नेपालका फिल्ड अधिकृत गंगाधर खनाल (राजु), सुर्काैदी कृषि सहकारीका अध्यक्ष कृष्ण प्रसाद पंगेनी लगायतले बोलेका थिए । वडा नम्वर १३ मा भएको कार्यक्रममा ३८ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो त्यस्तै वडा नम्वर ९ मा भएको कार्यक्रममा ३० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

दुबै वडामा भएका कार्यक्रममा कृषि प्राबिधिक शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापना गर्ने काम भईरहेको दियालो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्