अर्जेन्टिनाको सुखद् सुरुआत



एजेन्सी ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिनाले सुखद् सुरुआत गरेको छ ।

नेपाल समयअनुसार शुक्रबार बिहान भएको छनौट खेलमा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्यो । घरेलु भूमिमा भएको खेलमा अर्जेन्टिनाले पहिलो रोजाईका खेलाडीहरुलाई उतारेका थिए ।

अर्जेन्टिनाले जित आत्मसात गर्न पेनाल्टी गोलको सहारा लिनुपरेको थियो । कप्तान लिओनल मेसीले पहिलो हाफमा गरेको एक मात्रै पेनाल्टी गोलको मद्दतमा अर्जेन्टिनाले तीन अंक जोड्न सफल भयो ।

‌त्यस्तै, फिफा विश्वकप फुटबलको छनोट चरणकै अर्को खेलमा उरुग्वेले पनि सुखद सुरुवात गरेको छ । फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा सुरु भएको छनौट खेलमा उरुग्वेले चिलीमाथि २–१ गोलअन्तरको जित निकाल्न सफल भयो ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको छनौट चरणको पहिलो खेलमा उरुग्वेले आफ्नै घरेलु मैदानमा चिलीविरुद्ध ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा विजयी गोल गरेको थियो । एक-एक गोलको बराबरीतिर अग्रसर उक्त खेलको अन्तिम समयमा परिवर्तित खेलाडी म्याक्सी गोमेजले विजयी गोल गरेका थिए ।

त्यसअघि खलको ३९औं मिनेमा उरुग्वेका लागि लुइस स्वारेजले पेनाल्टीमार्फत् गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाहुना टोली चिली खेलमा फर्कियो । ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए ।

तर, इन्जुरी समयमा उरुग्वेका लागि सब्सिच्युट खेलाडी गोमेजले विजयी गोल गरे । खेलको ८७औं मिनेटमा ब्राइन रोड्रिग्वेजको स्थानमा मैदान छिरेका उनले ५ मिनेटमै गोल गरेपछि उरुग्वेले जित निकाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्