अस्ट्रेलियामा स्थायी बसोबासका लागि अंग्रेजी अनिवार्य



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाली सरकारले बिहीबारदेखि त्यहाँको स्थायी बसोबास भिसा लिनका लागि त्यहाँ बसिरहेका विदेशी पति वा पत्नीले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने बताएको छ। यदि, संसद्ले यो विवादास्पद आप्रवास योग्यता अनुमोदन गरेको खण्डमा यसलाई सन् २०२१ को मध्यदेखि कार्यान्वयन गरिने बताइएको छ।
यस नयाँ कानुनअनुसार आवेदकका पार्टनरले पनि आफ्नो अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा पोख्त भएको प्रमाणित गर्नुपर्ने भएको छ। आलोचकले यस नीतिलाई पक्षपातपूर्ण रहेको दाबी गरेका छन्। तर, सरकारले भने यसो गर्दा सामाजिक एकता मजबुत हुने धारणा व्यक्त गरेको छ।
आप्रवास मन्त्री अलान टजले भनेका छन्– ‘हामीलाई स्थायी भिसाका आवेदक र स्पोनसरको आधारभूत अंग्रेजी दक्षताको आवश्यकता छ । अर्थात् तिनीहरूले अंग्रेजी भाषा सिक्न कम्तीमा आवश्यक पहल गरेका छन् भन्ने प्रमाणित हुनुपर्छ। पछिल्ला केही वर्ष यतादेखि अस्ट्रेलियाको कन्जरभेटिभ सरकारले आप्रवासीको अंग्रेजी भाषा सीपको परीक्षण गर्न जोड दिँदै आएको छ।’
अस्ट्रेलियामा हाल केही अन्य काम गर्न र अध्ययन भिसाका लागि अंग्रेजी भाषा अनिवार्य रहेको छ। अस्ट्रेलियाली नागरिकताका लागि आवेदन दिनेले पनि अंग्रेजी भाषा परीक्षा दिनुपर्छ। अस्ट्रेलियाको कुल जनसंख्याको २० प्रतिशत बढी मानिसले अन्यभन्दा अंग्रेजी भाषा बोल्ने गर्छन्। त्यहाँका सबैभन्दा ठूला शहर सिड्नी र मेलबर्नमा त ३५ प्रतिशत बढीले अंग्रेजी बोल्ने गर्दछन्।
‘अस्ट्रेलियामा रहेका करिब दस लाख जनता अंग्रेजी जान्दैनन् वा अंग्रेजीमा कमजोर छन्। जसले गर्दा रोजगार र सामाजिक सीपका पक्षमा पिछडिएका छन्। यसका लागि सरकारले निःशुल्करूपमा पाँच सय घन्टा अग्रेजी भाषा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ– मन्त्री अलान टजले भने।’
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले अझै पनि पार्टनरहरू अस्थायी भिसामा अस्ट्रेलिया आउन सक्ने तर स्थायीरूपमा बसोबास गर्न भने अस्ट्रेलियाको पहिलो भाषा अंग्रेजी सिक्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्