राजधानी प्रस्तावको औचित्य प्रमाणित गर्न कांग्रेसको माग



यमलाल भुसाल, बुटवल

प्रदेश पाँचको सरकार र प्रदेश सभामा नेकपाको दुई तिहाइ सजिलै पुग्छ । तर दुई तिहाइको सरकारलाई प्रदेशको स्थायी राजधानी तोक्न हम्मेहम्मे भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेको थियो । अस्थायी राजधानी रहेको बुटवलका दर्जनौं संघसंस्थाले आफ्ना व्यावसायिक भवनसमेत प्रदेश सरकारलाई बुटवल राजधानी राख्नका लागि दिएको बताउँदै आएका छन् ।

उनीहरूले राजधानी बुटवलबाट सार्न पाइँदैन भनी सडकमा आन्दोलनसमेत गरिरहेका छन् । आन्दोलन गर्ने संघसंस्थामा ७५ प्रतिशत नेकपा वा सत्ता पक्षका नेताहरूले नेतृत्व गरेका छन् । तिनीहरू नै बुटवलमा राजधानी राख्नुपर्ने भनी लडिरहेका छन् ।

नेपाली कांग्रेसले भने आफ्नो पालामा घोषणा गरिएको बुटवलको राजधानी यथावत् नै राख्नुपर्ने भन्दै आन्दोलित भएको छ । कांग्रेसले सडकदेखि सदनसम्म तताएको छ । प्रदेश ५ मा कुल ८७ जना सभासद् रहेकोमा नेकपाको सभामुख उपसभामुखसहित ६१, नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६ र राष्ट्रिय जनमोर्चाको १ जना सभासद् रहेका छन् ।

सोमबारको ३०औं बैठक प्रदेश राजधानीको प्रस्तावमाथिको छलफलको विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गैरसंवैधानिक तरिकाले ल्याइएको राजधानीको प्रस्तावको औचित्य प्रमाणित गर्न माग गर्नुभयो । उहाँले बुटवल किन नहुने र दाङ के कारणले राजधानी हुने भन्ने कुराकोे औचित्य प्रमाणित गर्न माग गर्नुभयो ।

नेता कनौडियाले दलीय सहमतिविना ल्याइएको राजधानी र प्रदेशको प्रस्ताव फिर्ता गर्न माग गर्दै राजनीतिक संवाद र सहमतिबाट मात्र प्रस्ताव ल्याउन माग गर्नुभयो । राजधानी र नामसम्बन्धी अध्ययन गर्न बनेको विशेष समितिको प्रतिवेदन सार्वजनिकलगायतका मागहरू पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसले बताएको छ ।

त्यसलगत्तै सभामुखले बैठक अगाडि बढाउन खोजे पनि कांग्रेसका सभासद्हरूले रोस्टम घेरेर नाराबाजी गरिरहेका थिए । उनीहरूले संसदीय मर्यादा कार्यम गर, आन्दोलनका क्रममा पक्राउ गरी हिरासतमा राखिएका साथीलाई विनासर्त रिहा गर, राजधानीको प्रस्ताव फिर्ता गरलगायतका नारा लगाउँदै रोस्टम घेराउ गरेका थिए ।

प्रतिपक्षी दलका नेताले राखेका चारवटा माग पूरा गर्न माग गर्दै कांग्रेस सभासद्हरूले केही बेर नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले रोक्ने प्रयास गर्नुभएको थियो । ‘माननीयज्यूहरू नारा लगाएर भ्याइयो?’ भन्ने सभामुखले सोधेको प्रश्नको बेवास्ता गर्दै नाराबाजी झन् चर्काएका थिए ।

पहिलो बैठकमा कांग्रेसले रोस्टम घेरेपछि २ बजेसम्मलाई स्थगित गरिएको थियो ।
सहमतिका लागि केही समय प्रयास भए पनि कांग्रेसको अडान कायमै रहेपछि सभामुखले सभाको दोस्रो बैठक अघि बढाउनुभएको थियो । तर, दोस्रो बैठक पनि कांग्रेसले रोस्टम घेराउ गर्ने प्रयत्न गरेपछि सभामुखले मर्यादापालकको बलमा बैठक अगाडि बढाउनुभयो । त्यसपछि आक्रोशित कांग्रेसका सभासदहरूले संसद बैठकका कुर्ची भाँच्दै नाराबाजी गरेका थिए ।

नाराबाजी र तोडफोडकै बीचमा अघि बढेको बैठकमा सभामुखले नेकपाका सभासद् भोजप्रसाद श्रेष्ठलाई बोल्ने समय दिनुभयो । तर, श्रेष्ठले प्रदेशसभा संसदीय संस्कारमा अगाडि नबढेको टिप्पणी गर्नुभयो । उहाँले राजधानी र नामकरणका विषयमा गठित विज्ञ समूह र अध्ययन टोलीको प्रतिवेदन सार्वजानिक गर्न माग गर्नुभयो ।

बैठकमा बोल्दै नेकपाका अर्का सभासद् विष्णु पन्थीले प्रदेश ५ मा सबैको पायक पर्ने र सबै दृष्टिकोणबाट उपयुक्त स्थान कपिलवस्तु भएको जिकिर गर्दै कपिलवस्तुलाई प्रदेशको स्थायी राजधानी तोक्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चाका सभासद् तारा जिसीले संघीयताको असली स्वरूप उदांगो भएको टिप्पणी गर्दै संघीयतालाई खारेज गर्नुपर्ने जिकिर गर्नुभयो ।

तोकिएको भन्दा झण्डै एक घण्टा ढिलो गरी शुरु भएको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गर्दै विरोध जनाएपछि सदन मंगलबारसम्मका लागि स्थगित भएको हो ।

नेपाली कांग्रेससहित रूपन्देहीका व्यावसायिक तथा सामाजिक संघसंस्थाहरूले बुटवलको सडकमा नाराबाजी गर्दै राजधानी र नामकरणसम्बन्धी प्रस्ताव खारेजीको माग गरेका छन् भने संसद् भवनभित्र नेपाली कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने संसदीय दलको बैठकबाट निर्णय नै गरेर विरोधमा उत्रेको छ ।

नेकपाद्वारा ह्विप जारी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
नेकपा संसदीय दलकोे सोमवार बसेको बैठकमा दलका नेता मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक भूमिश्वर ढकालले बताउनुभयो । ‘अब नेकपाका सांसदहरूले प्रस्तावको पक्षमा मतदान गर्नुहुन्छ।’ –उहाँले भन्नुभयोे । प्रदेश ५ सरकारले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङदेउखुरी उपत्यकाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका वडा नं ८ र ९ लाई प्रदेशको राजधानी बनाउन प्रस्ताव पेस गरेको हो ।

संयोजक पदबाट राजीनामा
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिनुभएको छ । प्रदेशको स्थायी राजधानी दाङ लैजाने सरकारको प्रस्तावप्रति असन्तुष्ट नेकपाका प्रदेश सभा सदस्य श्रेष्ठले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
विधि र प्रक्रिया मिचेर जबरजस्ती प्रदेश राजधानी सार्न खोजिएको भन्दै उहाँले प्रदेशको राजधानी रूपन्देहीमै हुनुपर्ने अडानसहित उक्त पदबाट राजीनामा गर्नुभएको हो ।

प्रदेश राजधानी सार्ने प्रस्तावको विरोध
छिमेकी जिल्ला रूपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिएकोमा एकाएक प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी अयन्त्र लैजान खोजेको भन्दै पाल्पामा विरोध गरिएको छ ।
प्रदेश सरकारले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा लगेपछि नेपाली कांग्रेस पाल्पाले सोमबार जिल्ला सदरमुकाम तानसेनमा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेस जिल्ला पार्टी कार्यालय सिल्खानबाट शुरु भएको विरोध ¥याली आन्दोलन चोक, भीमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत प्रतिपक्ष दलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको बताउनुभयो । उहाँले विगतको सरकारले टुङ्गो लगाइसकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको उल्लेख गर्नुभयो । उहाँले जनतालाई रूपन्देहीमा राजधानी राख्ने भन्ने झुटो आश्वासन दिएर अहिले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता लिनुपर्दछ भन्नुभयो । उहाँले यदि त्यसो नभएमा थप आन्दोलनका कार्यक्रमहरू गरिने बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव झपेन्द्र गैरेले नेकपाका केही नेताहरूले मन्त्री खाने नाममा प्रदेश राजधानी सार्ने चलखेल गरेको बताउँदै हिजो नेकपाका नेताहरूले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको उल्लेख गर्नुभयो । उहाँले जुनसुकै हालतमा प्रदेश राजधानी सार्ने विषय उचित नभएको भन्दै त्यसको विरोधमा आमनागरिक उठ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नेता, भ्रातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राजधानीकै विषयलाई लिएर पूर्वी पाल्पाको रामपुरमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्