चितुवा आक्रमणबाट पिडीत २५ परिवारलाई राहात वितरण



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतमा चितुवाको आक्रमणबाट क्षति व्यहोरेका पिडितलाई राहात वितरण गरिएको छ ।

पर्वतमा चितुवाको आक्रमणमा परेर घाइते भएकी एक महिला तथा पशुचौपाय मारिएका कारण पिडित भएका २४ जना परिवारल सहित २५ जनालाई नगद राहात बितरण गरिएको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले डिभिजन आइतबार आयोजित कार्यक्रममा पिडीतलाई नगद हस्तान्तरण गर्नुभयो । मन्त्री लम्सालले २५ परिवारलाई ४ लाख ५५ हजार नगद हस्तान्तरण गर्नुभएको छ ।

डिभीजन बन पर्वतले राहातको माग गर्दै आएका निवेदनहरुको आधारमा पिडितहरुलाई राहात तथा क्षतिपुर्ति रकम हस्तान्तरण गरेको जनाएको छ। राहात वितरणका क्रममा विभिन्न व्यक्तिहरुलाई ४ लाख ५५ हजार २ सय ५४ रुपैँया क्षतिपुर्ति स्वरुप वितरण गरिएको थियो । जसमध्ये चितुवाको आक्रमणबाट गत असारमा घाइते भएकी जलजला ४ माझफाँटकी पदमकुमारी मल्ललाई १ लाख ३७ हजार ७ सय ५४ रुपैँया प्रदान गरिएको थियो भने अन्य विभिन्न घरपालुवा जनावरको क्षति व्यहोरेका २४ जनालाई राहात रकम वितरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले बन्यजन्तुलाई बनमा नै रहने बातावरण सिर्जना गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो । उहाँले बन्यजन्तु बनमा बस्ने उपयुक्त वातावरण नभएकै कारण समुदायमा छिर्ने र हिंस्रक बनेर आक्रमण गर्ने गरेको बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशमा बन्यजन्तुबाट मानिस र घरपालुवा जनावरमा आक्रमण गर्ने क्रम बढ्दै गएकाले बन्य जन्तुको संरक्षण सँगै पर्यटन विकासको अवधारणा अघि सारिएको बताउनुभयो ।

वन डिभीजन पर्वतका प्रमुख मेघराज पौडेलले चितुवा बस्तीवरपरका जंगलमा नै बस्ने भएकाले यसले घरेलु पशु चौपाय तथा मानिसलाई समेत आक्रमण गर्दै आएको बताउनुभयो । उहाँले घरमा कुकुर पाल्ने हो भने पहिलो आक्रमण कुकुरलाई गर्ने हुँदा मानिस तथा पशु चौपाय बढी सुरक्षित हुने गरेको अनुसन्धानले देखाएको जानकारी दिनुभयो ।

कार्यक्रममा भू तथा जलाधार कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल, कुश्मा नगरपालिका वडा नं. ५, ६ र ७ का वडा अध्यक्ष क्रमस चित्रकला शर्मा, रुद्र गिरी र सुवास पौडेल, सहायक बन अधिकृत केशव पुडासैनीले आफना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्