प्रदेशसभा सुरक्षाकर्मीको कब्जामा, बुटवलमा तनाब



यमलाल भुसाल, बुटवल ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्तावमाथि छलफल हुने दिन सोमवार बुटवलमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ जसका कारण बुटवलमा तनाब भएको छ ।

राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव बिरूद्व आन्दोलनमा उत्रिएकोे नेपाली काँंग्रेस र रूपन्देहीमा क्रियाशील उद्योगी व्यवसायीहरुको साझा मंच संजालले बिहानैदेखि बुटवलमा प्रदर्शन गरिरहेका छन ।

प्रदेश सरकारले असोज १६ गते प्रदेशसभामा पेश गरेको प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धि प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने प्रदेश सभाको कार्यसूची छ ।

प्रदेश सभामा राजधानी र नामाकरणमाथि छलफल सुरु हुने दिन बिहानैदेखि प्रदेशसभा कार्यालय क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिपक्षी नेपाली काँग्रेस, रुपन्देहीका उद्योगी÷व्यवसायी तथा नागरिकहरु प्रदेशसभा घेराउ गर्न विभिन्न चोक चोकमा प्रदर्शन गरिरहेका छन् ।

सम्भावित बिरोध प्रदर्शनलाई मध्यनजर गरि स्थानीय प्रशासनले बुटवलका विभिन्न चोक मन्त्रालय क्षेत्र, मुख्यमनत्रीको कार्यालय निवास र प्रदेश सभा भवन रहेको ईलाकालार्ई निषेधित क्षेत्र घोषणा गरे पनि निषेधित क्षेत्रमै प्रदर्शन भएको छ ।

अस्थायी मुकाम बुटवलमै राजधानी कायम गर, नेताका नाममा प्रदेशसभाको अधिकार कुण्ठित नगर जस्ता नारा लगाउँदै प्रदेशसभा तर्फ ठाउँ ठाउँबाट विरोध जुलुस निस्केको छ ।

राजधानीको प्रस्तावसँगै आन्दोलन चर्किएपछि बुटवलमा सुरक्षाकर्मी व्यापक मात्रामा सडकमा उतारिएको छ । आन्दोलनकारीले प्रदेशसभा घेराउ गर्ने भएपछि चारैतिर बाक्लो संख्यामा सुरक्षा घेरा तय गरिएको छ ।

प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा पेस गरेपछि प्रदेश राजनीति तरंगित बनेको छ ।

कुल ८७ सांसद रहेको प्रदेशसभामा दुई तिहाइ बहुमत पुग्न ५८ मत चाहिन्छ । ८७ मध्ये ६१ मत नेकपाको मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्