हुने दिएर गए, नहुने लिएर



शिक्षा पन्त, लमजुङ ।

लमजुङको बेसीशहर नगरपालीका–२ गैरी बजारमा रहेको प्रतिक्षालयमा “हुनेले दिएर जानुहोस,नहुनेले लिएर जानुहोस” लेखिएको यस्तो सूचना बिहिबारदेखि टाँसिएको छ । प्रतिक्षालयमा बिहान ११ देखि ३ बजेसम्म एउटा टेबल हुन्छ । टेबलमाथि चामल, दाल, तेल, नुनका पोका राखिएको छ । कोरोना महामारी र बन्दाबन्दीले दैनिकी ज्याला मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न पनि धौधौ छ ।

उनीहरूलाई थोरै भए पनि राहत होस् भनेर ’फुड बैंक’ सुरू गरिएको ’फुड बैंक’ का संयोजक अन्सुल लोहनीले बताउनुभयो । सक्नेले आफूसँग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई निःशुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको लोहनीलको भनाई छ । ’अहिले मजदुरी र ज्यालादारी गर्नेहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति छ ।

हाम्रो तर्फबाट समस्याको समाधान खोज्ने क्रममा फुड बैंक सुरू गरिएको हो । उहाँका अनुसार यो अभियानमार्फत् आइतबारसम्म ५३ भन्दा बढी घरपरिवारलाई कोसेली वितरण गरिएको छ । अभियान अझै तिन दिन जारी रहनेछ । ’हामीले फुड बैंक परीक्षणका रूपमा सुरू गरेका थियौं । फुड बैंकका संयोजक लोहनीले भन्नुभयो यतिका मान्छे आउनुहोला भन्ने सोचेकै थिएनौं । सहयोग गर्नेहरू पनि धेरै हुनुहुन्छ, ।

उहाँका अनुसार फुड बैंकका लागि हालसम्म २५ हजार रूपैयाँभन्दा बढीको आर्थिक सहयोग जुटेको छ । बेसीशहर नगरपालिका २ का हाल जापानमा कार्यरत बिबेक आलेमगरले पनी फुड बैंकको सहयोग अभियान एक्यबद्धता जनाउनुभएको छ । उहाँ भन्नुहुन्छ सहयोग गर्न पाएकोमा खुसी छु । सहयोगी हातहरू बढेको देखेर खुसी व्यक्त गर्दै लोहनी भन्नुहुन्छ ’अब अझै यस अभियानलाई कसरी व्यवस्थित ढंगबाट अघि बढाउने भनेर छलफल गरिरहेका छौं ।

’बिहिबारबाट सुरू फुड बैंकमा कोसेली लिन आउनेको संख्या दैनिक बढेको लोहनी बताउँनुहुन्छ । बिहिबार ८,शुक्रबार ९ शनिबार १८ जना आएका थिए र आइतबार बढेर २१ पुग्यो । फुड बैंकले ५ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो मसला १ प्याकेट साबुन ,बेसार, दाल, र स्वास्थ्य सुरक्षाका सामाग्री पनी वितरण गर्दै आइरहेका छ ।

खाद्यान्न सामग्री लिन आउनेको संख्या दिनहुँ बढ्दो छ । राहत वितरण र व्यवस्थापनमा बिहिबारदेखीनै उर्जासिल ३ जना युवाहरु खटिरहेका छन् । राहत लिन आउनेहरूलाई सामाजिक दुरी अनिवार्य गरिएको छ । धादिङ घर भई हाल लमजुङमा ज्यालामजदुरी गर्दै आएकी पेमा तामाङ बताउनुहुन्छ बन्दाबन्दीका कारण काम पनी ठप्प भइहाल्यो । काम नचलेपछि हातमुख जोर्न समस्या भयो ।

कति दिन त खानेकुरा नभएर सिस्नो धरी उमालेर छाक टारे । बिहिबारदेखी गैरीमा दाल चामल बाडेको छ अरे भन्नी खबर सुनेर आए तामाङ भन्नुहुन्छ अब केही दिन भएनी चामलको भात खान पाइने भयो । यही टोलीले पहिले लकडाउनको समयमा पनि खाद्य सामग्री वितरण गरेको थियो । उनीहरूले देशविदेशमा छरिएर रहनुभएका दाजुभाई दिदिबहिनिहरुको सहयोगमा घरघरमा पुगेर राहत बाँडेका थिए ।

उक्त अभियान झन्डै एक साता चल्यो । यस क्रममा १ बोरा चामल,आधा किलो दाल, आधा किलो सोयाबिन, एक प्याकेट नुन र १ लिटर तेल वितरण गरिएको थियो । वडाको सहयोगमा यो अभियान चलाउन सके धेरैलाई राहत हुने फुड बैंकका संचालक रबिन परियारको भनाइ छ । ’एकअर्कालाई सहयोग गर्नु नै मानवीय धर्म हो,’ परियार भन्नुहुन्छ्, ’रोग र भोकले कोही मर्न नपरोस् भनेर सक्दो कोसिस गर्दैछौं । सहयोगी हातहरू हुनुहुन्छ, हौसला पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्