बुटवलमा निषेधाज्ञा तोडेरै बृहत प्रदर्शन



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको राजधानी दाङ्को देउखुरीलैजाने प्रदेश सरकारको प्रस्ताव बिरुद्ध आईतबार बुटवलमा उद्योगी व्यबसायीहरुको साझा मंच संजाल निषेधाज्ञा तोडेर बिरोध र्‍याली प्रदर्शन गरेका छन् ।

उद्योगी व्यबसायी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिरोध गर्ने तयारी गरेपछि सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो ।प्रदेशको राजधानी सार्नका लागि सरकारले षड्यन्त्र गरेको भन्दै उद्योगी व्यबसायीले त्यसको बिरोध गर्दै निषेधाज्ञा तोडेर बिरोध प्रदर्शन गरेका हुन् । बिहान बुटवलको राजमार्ग चौराहाबाट निकालिएको बिरोध र्‍याली मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियोे ।

सरकारले प्रदेश सभा रहेको क्षेत्र, मन्त्रालयहरु रहेको क्षेत्र र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । आईतबार बिहान उद्योगी व्यबसायीहरु मन्त्रालयहरु रहेको क्षेत्रमा निषेधाज्ञा तोडेर प्रदर्शन गरेका हुन् । यद्यपी बुटवलको सडकभरी सुरक्षाकर्मी परिचालन गरिएको थियोे ।

रुपन्देही जिल्लामा रहेका व्यबसायिक संघसंस्थाहरुको संस्था (सञ्जाल) रुपन्देहीको आयोजनामा गरिएको विरोध र्‍यालीमा प्रदेश राजधानी सार्न पाईँदैन, मान्यज्यूहरु खवरदार, अर्को चुनावमा भोट चाँहीदैन ?, राजधानी सार्न पाईँदैन लगायतका नारा लगाएका थिए ।

प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि प्रदेश सभा तथा सरकार सञ्चालनका लागि रुपन्देहीका संघसंस्थाहरुले आफ्ना भवन दिएर सहयोग गरेको स्मरण गराउँदै विगतलाई नभुल्न समेत चेतावनी दिएका थिए । र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिनुभयो ।

प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा यस क्षेत्रका सामाजिक तथा व्यबसायिक संघसंस्थाले गरेको योगदानको स्मरण गर्दै उहाँले नीजि क्षेत्रको योगदानलाई नजरअन्दाज नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

संयुक्त संघर्ष समितिका सहसंयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीपश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघका अध्यक्ष समुन्द्र जिसी लगायतले राजधानी बाँके बर्दियाका लागि मात्रै भन्दा पनि पाल्पाको पल्लो टुप्पो र गुल्मीको छेउलाई पनि हेर्न आग्रह गर्नुभयो ।

त्यस्तै असोज १९ गते प्रदेश सभा घेराउ गर्ने कार्यक्रममा प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभामा छिर्न नदिने उनिहरूको योजना छ ।
व्यवसायीक संजालले सोमवार साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आह्वान समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्