फलफुलको खुद्रा मुल्य, व्यापारीको विवेकमा खरिद र बिक्री मूल्यको अन्तर थाहा पाउनै नसकिने



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंका फलफुल पसलमा अहिले भारतीय स्याउको मूल्य २०० देखि २५० रुपैयाँसम्म छ । यो स्याउ कुलेश्वर फलफुल बजारमा आउँदा १२० रुपैयाँमा आइपुग्छ ।

कुलेश्वरमा यही स्याउको मूल्य १८० देखि १९० रुपैयाँसम्म पनि पथ्र्यो । त्यतिबेला लगेको स्याउ बिक्री गर्दा खुद्रा व्यापारीले जुन मुल्यमा बेचेका थिए । अहिले भाउ घटेका बेला पनि उही मुल्यमा बेचिरहेका छन् । खुद्रा व्यापार गर्नेको खरिद मूल्य कसले सोध्ने? थाहै नपाइ उपभोक्ताले खुरुखुरु बढी मुल्य तिरिरहेका छन् । व्यापारीले जति भन्यो फलफुलको मुल्य उत्ति नै हो ।

बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृष फ्रुट सेन्टरबाट असोज १३ र १४ गते क्रमशः ८१ ह्जार ९०० र ८७ हजार ३६० रुपैयाँ मूल्यका फलफुल पठाइयो । यो विवरण उनीहरुले कागजको पानामा टिपे तर बिल बनाएनन् ।

बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर ५ हजार बुझायो । कसैले माग्दा उनले अहिले देखाउने कागज त्यही हो । बजारमा मुल्य सूची अद्यावधिक छैन । खरिद बिक्री बिल जारी छैन । एकजनाका नाममा पसल दर्ता गरेर अरुले नै चलाइरहेका छन् ।

त्यहाँ १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामाग्री व्यापार लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् । निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म र कृषि सामाग्री व्यापार लिमिटेडका सटरको भाडा न्युनतम ४८ हजार देखि अधिकतम ६० हजार रुपैयाँसम्म छ । फलफुल व्यापारीको संघ, नेपाल फलफुल थोक व्यवसायी संघकाअनुसार त्यस क्षेत्रमा दैनिक करीब ५० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको व्यापार हुन्छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कुलेश्वरमा रहेको फलफुल बजारमा अनुगमन गरेपछि देखिएको यो अवस्थापछि प्रतिक्रिया दिँदै कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — फलफुलको मूल्य निर्धारण गर्ने आधार कागज देखिएन । दर्ता नविकरण, खरिदबिक्री बिल कसैले देखाउन सकेनन् । बिल माग्दा कसैले मेरो अडिटरसँग छ भने ।

कसैले घरमा छ भने । अवस्था सुधारका लागि हामीले समितिमार्फत अनुरोध गरेका छौं । गल्ती भएकै हो । यसलाई सुधार गर्ने प्रयास गर्छौ । अनुगमनपछिको प्रतिक्रियामा नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ भन्दैहुनुहुन्थ्यो — मुलदेखि सुधारको प्रयास गरौं । हामी सुधारिन्छौं । यो मुल भनेको के हो? त्यो चाहिँ उनले खुलाएनन् ।

फलफुलको थोक र खुद्रा पसलमा कति मूल्य फरक छ? छुट््याउने आधार भएन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — व्यापारीले जति भन्यो उति मूल्य तिर्नुबाहेक उपभोक्तासँग बिकल्प छैन । यहाँ ठूलो ठगी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्