बाइडन कोरोना नेगेटिभ, ट्रम्पको उम्मेदवारी संकटमा



वासिङ्टन, (एजेन्सी)
कोभिड–१९ महामारी शुरूमा फैलिँदा खिसिट्युरी गर्दै नानाथरि टिप्पणी गर्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै उक्त भाइरसको चपेटामा आएपछि अमेरिकी राजनीतिमा ठूलो हलचल उत्पन्न भएको छ।
यसबीच आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनावमा उनका डेमोक्र्याटिक प्रतिद्वन्द्वी जोय बाइडनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प संक्रमित भएको खबर बाहिर आएपछि बाइडन र उनकी पत्नीले शुक्रबार नै कोभिड–१९ जाँच गराएका थिए।
बाइडनको प्रचार–प्रसार कार्यालयका तर्फबाट जारी गरिएको विज्ञप्तिमा डाक्टर केबिन ओ कोन्नारले बाइडनको कोभिड–१९ जाँच नेगेटिभ आएको जानकारी दिएका हुन्।
बाइडन र ट्रम्पबीच केही दिनअघि मात्रै ९० मिनेटभन्दा लामो समय एउटै मञ्चमा प्रत्यक्ष बहस भएको थियो। अझै पनि यस प्रकारका प्रत्यक्ष दुई बहस हुन बाँकी नै छन्। दोस्रो बहस अक्टोबर १५ मा फ्लोरिडाको मायामी र तेस्रो अक्टोबर २० मा टेनेस्सीको नेसबिलामा हुने कार्यक्रम छ।
बाइडनले आफ्ना समर्थकलाई भावुक सन्देश एक सामाजिक सञ्जालमा पोस्ट गरिएकोमा धन्यवाद दिएका छन्। यस घटनाले भविष्यमा मास्क लगाउनुपर्ने र सामाजिक दूरी बनाइराख्नुपर्ने तथा हात धुनुपर्ने स्मरण गराउने अपेक्षा गरेको उनले बताए।
अमेरिकी राष्ट्रपति चुनाव करिब १ महिना बाँकी हुँदा कोरोना संक्रमित देखिएका रिपब्लिकन उम्मेदवार ट्रम्पको उम्मेदवारीलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्। कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी १४ दिनको क्वारेन्टाइनमा गएका छन्। उनकी पत्नी मेलानियाको पनि कोरोना पोजिटिभ देखिएको हो। ट्रम्पका एक निजी सल्लाहकारमा कोरोना भाइरस पोजिटिभ थियो र उनीबाट ट्रम्प र मेलानिया संक्रमण भएको बताइएको छ।
चुनावको हालसम्मको सर्वेक्षणमा आफ्ना प्रतिद्वन्द्वीभन्दा ट्रम्प पछाडि नै देखिएका छन्। यद्यपि, यसले चुनावी नतिजालाई प्रभाव नपार्न पनि सक्छ। यस स्थिति अमेरिकामा यदि ट्रम्प कोरोना संक्रमणबाट ठीक भएपछि आफ्ना उम्मेदवारी फिर्ता लिए भने त्यसको परिणाम के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ। उनको रिपब्लिकन पार्टीले नै उनको चुनाव टिकट फिर्ता गर्न पनि भन्न सक्ने सम्भावनाको चर्चा हुन थालेको छ।
ट्रम्प कोरोना पोजिटिभ भएको अवस्थामा अब सम्पूर्ण अभिभारा रिपब्लिकन नेसनल कमिटीमाथि आएको न्युयोर्क विश्वविद्यालयका कानुनका प्रोफेसर रिचर्ड पाइल्सले बताए। यस्तो अवस्थामा पूरै जिम्मेवार राष्ट्रिय राजनीतिक दलको हुनजान्छ अर्थात् रिपब्लिकन र डेमोक्र्याटिक नेसनल कमिटीले अब यसमा फैसला गर्नेछ।

प्रतिक्रिया दिनुहोस्