केही समय कार्यक्रम नहुँदैमा डराउनुपर्ने छैन : कृष्ण काफ्ले



सुन न चम्पा, पर्ख पर्ख मायालु, मैले बोलको छैन ढाँटेर जस्ता दर्जनौं गीतबाट लोकप्रियता कमाई लगातार हिट गीत दिएर चर्चामा आइरहेका गायक कृष्ण काफ्ले कारोना कहरका बीच नयाँ–नयाँ सांगीतिक कोसेलीका साथ दर्शक स्रोतामाझ आइरहेका छन्। डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय रही सांगीतिक क्षेत्रमा स्थापित हुन सफल स्याङ्जाका काफ्लेले आप्mनो स्वर साधनाका कारण थुप्रै सम्मान र पुरस्कारलाई आप्mनो बनाइसकेका छन् भने हालै संविधान दिवसका अवसरमा पदकबाट विभूषित गरिने कलाकर्मीको सूचीमा उनलाई जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरिने घोषणा भएको छ। उनै गायक कृष्ण काफ्लेसँगे नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुछ छ ः

हाल के गर्दै हुनुहुन्छ?
म आफ्ना अपकमिङ सिर्जनाको लागि काम गरीरहेको छु। गीत–संगीतको काम गरिरहेको छु। विभिन्न स्रष्टाको साथ सहकार्य गर्दै छु। आगामी प्रोजेक्टलाई नै महत्व दिएर काम गरिरहेको छु।

यसपालि पदक पाउने नाममा तपाईंको नाम पनि घोषणा भएको छ, कस्तो लागिरहेको छ?
असाध्यै खुसी लागिरहेको छ। डेढ दशकदेखि गीत–संगीतमा मेरो प्रभावलाई हेरेर नै पदक दिने घोषणा गरीएको होला। म देशदेखि विदेशसम्म मैले देशलाई प्रतिनिधित्व गर्ने खालका र नेपाली गीत–संगीतलाई उजागर गर्ने गरी कार्यक्रममा सहभागी भइरहेको हुन्छु। जसले गर्दा राज्यलाई टेवा पुगेको र नेपाली गीत–संगीतको क्षेत्रको प्रवद्र्धनमा मद्दत पुगेको हुनुपर्छ भन्ने लाग्छ। सायद यिनै कुरामा विचार गरेर मलाई पनि पदक दिने घोषणा गरिएको होला। यसरी राज्यको नजरमा परेर पदक पाउने नाममा मेरो नाम पनि पर्दा हर्षित छु।

कोरोना महमारीले तपाईंको करिअरमा कस्तो असर पारेको छ?
गीत–संगीत मात्र होइन यति बेला जुनसुकै क्षेत्र पनि कोरोनाको मारमा परेको छ। पहिले जस्तो चहलपहल कुनै पनि क्षेत्रमा छैन। हाम्रो पनि देश–विदेशका स्टेज कार्यक्रम पोस्टपोन भएका छन्, कार्यक्रम भएका छैनन्। कमाइको हिसाबले घाटा नै छ। तर, यति बेला मानिसहरूलाई पैसा कमाउने भन्दा पनि कसरी ज्यान बचाउने भन्नेतिर नै ध्यान छ। बाहिर कार्यक्रम नभए पनि लकडाउन र निषेधाज्ञोखि अहिलेसम्म घरमै बसेर गीत–संगीतकै काम गरिरहेको छु। यो समयमा आफूमा भएका कमिकमजोरीलाई बुझेर आफूलाई आफैं प्रोग्रेसिभ बनाउने गीत–संगीत कम्पोज गर्ने जस्ता कार्य गरिरहेको छु। रेकर्डिङमार्फत आम्दानी पनि गरिरहेको छु।

कोरोना महामारीको समयमा कति गीत गाउनुभयो? कस्तो खालको गीत गाउनुभयो?
मैले यो बिचमा १५÷२० राम्रा राम्रा गीत गाएँ। अफर आएका सबै गीत गाउने हो भने संख्याकै हिसाबले धेरै भइसक्थे, तर मजस्तो पायो त्यस्तो गीत गाउँदिन। मलाई राम्रा र स्तरीय सिर्जनासँग जोडिनुमा बेग्लै मज्जा लाग्छ।

स्टेज कार्यक्रम र विदेशको कार्यक्रम बन्द हँुदा कतिको गाह्रो हुने रहेछ?
कोरोना अनि लकडाउनका कारण धनीदेखि गरिबसम्म सबैलाई उत्तिकै असर परेको छ। स्टेज र विदेशका कार्यक्रम बन्द भए पनि चलेका गायक–गायिकाले अहिले पनि गीत रेकर्डिङ गराएर कमाइरहेका छन्। यो अवस्थामा पहिलाको जस्तो पारिश्रमिक नपाएको पनि होला। टपमा आइसकेका गायक–गायिकाले पहिले नै देश–विदेश भ्रमणमार्फत अर्निङ गरेका हुन्छन्। मेरै कुरा गर्दाचाहिँ मैले २० वटा जति देश र आफ्नै देशमा पनि धेरै कार्यक्रम गरेको छु। त्यस कारण आर्थिकरूपमा सस्टेन हुनका लागि अहिले नै त्यस्तो गाह्रो परिसकेको छैन। तर, जो भर्खर स्ट्रगल गर्दै हुनुहुन्छ, उहाँहरूका लागि भने गाह्रो पक्कै छ।

स्टेज र विदेशका कार्यक्रममा लामो ग्याप हुँदा दर्शकले बिर्सने हो कि भन्ने डर होला नि?
जसको गीत करौडौं दर्शकको माझ पुगेको छ, करौडांैको मुखमा झुन्डिएको छ, त्यस्ता गायक गायिकाले डर मान्नुपर्ने देख्दिनँ। मेरो गीतको कुरा गर्दा पर्ख पर्ख मायालुदेखि लिएर कयौं गीत दर्शकमाझ हिट छन्, स्टेजमार्फत कयौं ठाउँमा धूलो उडाएको छु भने थुप्रै देशमा कार्यक्रम गरिसकेको छु्। पछिल्लोपटक विदेशमा मेरो डिमान्ड बढिरहेको थियो। त्यहीबीच कोरोनाले लकडाउन हुँदा अमेरिकालगायतका देशमा फिक्स भएको कार्यक्रम पोस्टपन भए। लकडाउनकै बेला मैले गाएको मैले बोलेको छैन ढाँटेर बोलको गीतले धेरै दर्शकको माया पाएको छ। यस कारण केही महिना कार्यक्रम नहुँदैमा मलाई डर मान्नुपर्ने स्थिति छैन।

सबैजसो क्षेत्र खुलिसके, अब कला सांगीतिक कार्यक्रम पनि खुल्नुपर्छ कि?
अहिले चलिरहेका यातायात र व्यवसाय अति आवश्यक भएर खुलेका हुन्। मेरो विचारमा जनता सचेत भएर स्वास्थ्य मापदण्ड पूरा गर्ने हो भने कोभिड–१९ धेरै फैलिँदैन पनि। गीत–संगीतको कार्यक्रम भन्नेवित्तिकै भीडभाडको कुरा आउँछ, फेरि मनोरञ्जन अति आवश्यक कुरामा पनि पर्दैन। तर, कतिन्जेल यसरी नै बस्ने? अरू क्षेत्रजस्तै फिल्म हल तथा कार्यक्रम पनि सतर्क भएर र स्वास्थ्य मापदण्ड अपनाएर विस्तारै–विस्तारै सुचारु गर्नुपर्छ र अब खुल्छ पनि होला। दशैं–तिहारको माहोल पनि आइरहेको छ। दशैं–तिहार बीच भोजपुर र धनकुटामा मेरो ८ वटा प्रोग्राम फिक्स भएका छन्। त्यहाँ कोभिड–१९ को केस छैन र कलाकारहरूको पनि पीसीआर टेस्ट गराएर कार्यक्रम आयोजना गर्ने सल्लाहअनुरूप कार्यक्रम तय गरिएको रहेछ। यसरी अन्य जिल्लामा पनि त्यस्तै गरियो भने यो क्षेत्र चलायमान हुन सक्छ।

केही फिल्म र म्युजिक भिडियोमा अभिनय पनि गर्नुभएको छ, अभिनयमा पनि रुचि छ जस्तो छ नि?
म गायक बन्नका लागि स्याङजाबाट काठमाडौ आए पनि निर्मल शर्मा दाइलाई चिनेका कारण उहाँलाई भनेर तीतो सत्यमा खेलें। त्यसपछि केही फिल्ममा पनि काम गरें। धेरै दर्शकले आफ्नो गीतमा आफैं अभिनय गर्नुस्, फोटोजेनिक फेस छ भन्ने सल्लाह दिनुभएकाले भिडियोहरूमा अभिनय गरेको हुँ। गीत र नाम सुने पनि अनुहारले नचिन्ने दर्शकसमेत हुनुहुन्छ। अभिनय गर्दा अझ धेरै दर्शकले चिन्नुहुन्छ भन्ने लाग्यो र मेरो रहर पनि हो।

अबको योजना के छ?
केही गीत तयार हुँदै छन भने केही गीतको भिडियो सुटिङ गर्ने योजना छ। दशैं–तिहारको बीच भोजपुर र संखुवासभामा कार्यक्रम छ। बेलायतमा पनि पहिले जति दर्शक नभए पनि कार्यक्रम गरौं भन्नुभएको छ। तर, पहिले एकचोटी जाँदा ४० वटा कार्यक्रम गरेर आएको मान्छे २ वटा कार्यक्रमका लागि जाने कि नजाने सोच्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्