मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुली गर्ने श्रेष्ठ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कामदारलाई बन्धक बनाई रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम सोल्मा गाविस ८ घर भइ मोरङको सुन्दरपुर ५ बस्ने दुर्गाबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई मंगलबार कान्ति बाल अस्पतालस्थित सडकबाट पक्राउ गरिएको हो। श्रेष्ठले मलेसियास्थित ‘टप ग्लोभ’ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने गरेको जनाइएको छ। श्रेष्ठसहित उनकी श्रीमती धनमाया श्रेष्ठ र उनका ड्राइभर श्याम नेपालीले मलेसियामा दाङ १५ बस्ने मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीसँग रकम माग गरेका थिए ।

पीडितकी श्रीमतीले फिरौतीवापत १५ लाख ९२ हजार रकम श्रेष्ठको बैँक खातामा हालेको खुलेको छ । श्रेष्ठ नेपाल आएको गोप्य सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्