खुकुरी प्रहार गरी श्रीमान्को हत्या



चिरञ्जीवी मास्के, दोलखा

दोलखाको शैलुङ गाउँपालिका–८ मनगाउँममा ४७ वर्षीया एक महिलाले कोदालो तथा खुकुरी प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । श्रीमान्ले आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै गाली गर्न थालेपछि आवेगमा आएर कोदाली तथा खुकुरी प्रहार गरी हत्या गरेको छिमेकीले बताएका छन् ।

मनगाउँकी दुर्गामाया श्रेष्ठले ५२ वर्षीय श्रीमान् हस्तनारायण श्रेष्ठलाई सोमबार राति टाउकोलगायत शरीरका विभिन्न भागमा खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ सोमबार राति १२ः४५ बजे नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा पाँच जना र मागापौवा चौकीबाट चार जनाको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त दुर्गामायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

छिमेकीका अनुसार एक हप्ताअघि मात्र काठमाडौंबाट घर आउनुभएको दुर्गामाया र मृतक श्रीमान् हस्तनारायणबीच बेलाबेलामा झगडा हुने गरेको थियो । सोमबार साँझ पनि छोरी ज्वाइँलगायत केही पाहुनाहरू आएकाले खानपिनको तयारी गरिरहँदा श्रीमान्ले दुर्गामायालाई चरित्रमाथि प्रश्न उठाउँदै गालिगलौज गर्न थालेपछि पटकपटक झगडा भएको थियो ।

सोही क्रममा राति १० बजेतिर दुर्गामायाले मृतक हस्तनारायणलाई शुरुमा कोदालोको दापले हिर्काएर लडाएको र त्यसपछि पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको छिमेकीहरूले बताएका छन् । दुर्गामायाले खुकरी देखाउँदै कराउन लागेपछि छोराछोरीलगायत पाहुनाहरूको भागाभाग भएको स्थानीयले बताए ।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने अभियुक्त दुर्गामायालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएकोले अहिले नै घट्नाको कारण भन्न नसकिने बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा घरायसी वादविवादमा घटना भएको देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्