रोनाल्डोले रेकर्ड बनाउँदा युभेन्ट्सको बराबरी



APTOPIX Italy Soccer Serie A

लन्डन, (एजेन्सी)

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएको खेलमा इटालियन सिरी ए क्लब युभेन्ट्सले बराबरीको नतिजा आत्मसात् गरेको छ।

आइतबार राति युभेन्ट्सले सिरी ए लिग फुटबलअन्तर्गत अवे मैदानमा रोमासँग २–२ गोलको बराबरी खेल्ने क्रममा रोनाल्डोले दुई गोलको योगदान गरेका थिए। दुईपटक टिम पछि परेको स्थितिमा रोनाल्डोले नै दुवैपटक गोल गरेर टिमको उद्धार गरेका छन्।

लिगको दोस्रो खेलमा युभेन्ट्सले रोमासँग उसैको घरेलु मैदानमा बराबरी खेलेको हो। युभेन्ट्स खेलको ६२औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। मिडफिल्डर राबिओट दोहोरो पहेंलो कार्डको शिकार भएका थिए।
घरेलु टोली रोमाले खेलको ३१औं मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएको थियो।

पेनाल्टी प्रहार जोर्डन भेरेटोउटले गरेका थिए । त्यसपछि पहिलो हाफको ४४औं मिनेटमा युभेन्ट्सले पनि पेनाल्टी पायो, जसमा रोनाल्डोले विनाकुनै गल्ती गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए। तर, इन्जुरी समयमा रोमाका लागि जोर्डनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत युभेन्ट्सका लागि रोनाल्डोले खेलको ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ड्यानिलोले मैदानको माथिल्लो भागबाट दिएको एरियल पासमा रोनाल्डोले निकै माथि जम्प गरेर हेडिङ गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल भएन र खेल २–२ को बराबरीमा टुंगियो।

उक्त खेलमा दुई गोल गरेपछि रोनाल्डो युरोपका टप–५ लिगमा ४ सय ५० गोल पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। रोनाल्डोले शीर्ष लिगमा फरक–फरक टोलीबाट खेल्दै ४ सय ५० गोलको महत्वपूर्ण कोसेढुंगा पूरा गरेका हुन्।

रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडका लागि १ सय ९६ खेलबाट ८४ गोल गरेका छन्। त्यसपछि स्पेनिस रियल मेड्रिडका लागि २ सय ९२ खेलबाट ३ सय ११ गोल गरेका छन्। हालको क्लब युभेन्ट्सका लागि उनले ६६ खेलबाट ५५ गोल गरेका छन्। सिरी ए को नयाँ सिजन २०२०/२१ शुरू भएयता रोनाल्डोले दुई खेलमा ३ गोल गर्दै एक गोलमा असिस्ट गरेका छन्। रोनाल्डो वर्ष २०२० का सर्वाधिक गोलकर्ता खेलाडीसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्