हैदराबादद्वारा कोलकाता पराजित



यूएई, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले जित हात पारेको छ।
कोलकाताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको हो। हैदराबादले १ सय ४३ रनको लक्ष्य दिएकोमा कोलकाताले २ विकेटको क्षतिमा १२ बल बाँकी राखी जित हासिल गरेको हो। टोलीका जितमा शुभमन गिलले सर्वाधिक ७० रन जोडेका थिए। ‘प्लेयर अफ द म्याच’ घोषित भएका गिलको आईपीएलमा यो पाँचौं अर्धशतकसमेत हो।
कोलकाताले ५५ रनमा तीन विकेट गुमायो। कप्तान दिनेश कार्तिक र सुनिल नारान शून्यमा आउट हुन पुगे। जबकि, नितिश राणा २६ रनमा पवेलियन फर्केका थिए। राणाले ६ चौका प्रहार गरे। त्यसपछि गिल र आयन मोर्गानले चौथो विकेटका लागि ९२ रनको अटुट साझेदारी गरेर जित दिलाएका थिए। नटआउट रहेका मोर्गानले ४२ रनको योगदान दिए। हैदराबादका लागि नटराजन र रसिद खानले समान १÷१ विकेट लिए।
हैदराबादले टस जितेर ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ४२ रनको योगफल बनाएको थियो। जारी सिजनमा यो हालसम्म सानो लक्ष्य पनि थियो। अघिल्लो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई दिएको १ सय ५७ रनको लक्ष्य सानो थियो। यो खेल दिल्लीले सुपर ओभरमा जितेको हो।
हैदराबादका लागि मनीष पाण्डेले सर्वाधिक ५१ रन योगदान दिए। उनको यो आईपीएलमा १६औं अर्धशतक हो। अन्यमा कप्तान डेभिड वार्नरले ३० बलमा ३६ रन जोडे। त्यस्तै, ऋद्धिमान साहले ३० रनको इनिङ खेलेका थिए। तर, जोनी बेयरस्टो मात्र ५ रन जोडेर पवेलियन फर्केका थिए। कोलकाताका बलरमा प्याट कमिन्स, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १÷१ विकेट हासिल गरे।

प्रतिक्रिया दिनुहोस्