क्यानले केही निर्णयप्रति पुनर्विचार गर्नुपर्नेे



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान)को गत बसेको बैठकमा सार्वजनिक भएका केही निर्णयमाथि पुनर्विचार हुनुपर्ने भन्दै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले विज्ञप्ति राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई बुझाएको छ।

चितवनमा गत असोज ६ गते भएको बैठकमा क्यानले लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेटको व्यवस्थापनसँग सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यका साथ गरिएका निर्णयले केही सुधारात्मक र सकारात्मक सन्देश दिएको सिप्यानले जनाएको छ। यसका लागि सिप्यानले स्वागत गर्दै ती निर्णयमध्ये क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने तीन बुँदा सिप्यानले उल्लेख गरेको छ।

जसमा पहिलो बुँदामा सन् २०२० का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई गरिएको वर्गीकरणको आधारमा थप प्रस्ट हुन आवश्यक देखिन्छ। वर्गीकरण जस्तो महŒवपूर्ण विषयवस्तुलाई पारदर्शीरूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ। यसलाई तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ।

दोस्रो बुँदामा विश्वव्यापी स्थापित मूल्यमान्यतालाई आधार मान्दै नेपाली क्रिकेटलाई व्यावसायिक उन्मुख र प्रतिफलमुखी बनाइराख्न क्रिकेट खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाइनुपर्ने र खेलाडीको मनोबल उच्च बनाइ राख्नुपर्ने अतिआवश्यक हुन्छ। यसका लागि न्यायिक ढंगले समयसापेक्ष कुनै पनि किसिमको विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्छ भन्नेमा सिप्यान दृढ हुनैपर्ने जनाएको छ।

उल्लेखित तेस्रो बँदामा पुरुष र महिला क्रिकेट खेलाडीको जीवनबीमा÷दुर्घटना बीमा गर्नका लागि त्यस संघबाट आवश्यक पहल गरिने कुरा सराहनीय भएको जनाएको छ। तर, यसका लागि समावेश गरिने खेलाडीको दायरालाई फराकिलो बनाइनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्