सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा



दार्चुला, (नेस)

भारतसँग सिमानाका जोडिएको दार्चुला जिल्लाका सिमानाकाहरुमा सशस्त्र प्रहरीको एक गुल्मसहित ४ वटा बीओपीहरु स्थापना गरिएको छ । भारतले जिल्लाको व्याँस गाउँपालिका–१ मा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले सीमा क्षेत्रमा निगरानी बढाएको हो ।

सरकारले सीमा रक्षाका लागी मन्त्रिपरिषद्को बैठकमा दार्चुलाका आधा दर्जन बढी ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ, भने त्यसबाहेक ४ ठाउँमा बीओपी स्थापना गरेको छ ।

जिल्ला सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बलको गण स्थापना गरी छाङ्रुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयो । सरकारले निर्णय गरेअनुसार जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङ, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जौलजिवी र लेकम गाउँपालिका–३ लालीमा बीओपी स्थापना गरिएको उहाँले बताउनुभयो ।

महाकाली नगरपालिका–९ दत्तुमा एक कार्यक्रमका बीच बीओपीको स्थापना गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले सशस्त्र प्रहरी बल, अधिकृत तथा जवानहरु माझ सीमा सुरक्षाको संवेदनशीलताको बारेमा प्रकाश पार्दै इमानदार भई देशको सीमा रक्षा गर्न निर्देशन गर्नुभएको छ ।

साथै उहाँले आफ्नो कर्तव्य पालनमा अडिग रही निरन्तर देशको सेवा गर्नसमेत निर्देशन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उपस्थित हुनुभएका महाकाली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरसिंह डागाले सशस्त्र प्रहरीको बीओपी स्थापना हुनुले सीमा अपराध, शान्ति सुरक्षा, अवैध चोरी निकासी न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष डागाले स्थानीय जनता सदैव सशस्त्र प्रहरीलाई सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

दत्तु बीओपीले महाकाली नगरपालिका वडा नम्बर ९ को बेत, उडै, चुच्चै, दत्तु, सकार र धापको सीमासम्म सिमामा सुरक्षा प्रदान गर्ने गणपति बमले जानकारी दिनुभयो । क्रमिकरुपमा व्याँस गाउँपालिका–१ मा पर्ने कौवा र तिंकरमा समते सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्