गाउँपालिकाको कार्यालय आउँदा हप्केलामा ज्यान



नेपाल समाचारपत्र, हेटौंडा

साउन १२ गते मकवानपुर गढी गाउँपालिका वडा नम्बर ६का सुमनसिंह रुम्बा सामरी खोला तरेर काम विशेषले मकवानपुरको गढीगाउँपालिकाको वडा नम्बर ३ मा रहेको कार्यालयमा आउँदै थिए, तर उहाँ गाउँपालिकाको कार्यालयसम्म आउन पाउनुभएन ।

त्यही सामरी खोलाले उहाँको ज्यान लियो । यत्ति मात्रै होइन, आइतबार बिहान वडा नम्बर ६ कै ज्ञानबहादुर दर्जी र उहाँकी पत्नी तुलसामाया दर्जीको ज्यान पनि बचेन । बिहानै खाना खाएर गाउँपालिकाको कार्यालय कामले हिँडेका दुवैजना श्रीमान्श्रीमतीलाई सामरी खोलाले बगायो र अन्ततः गाउँपालिकाको कार्यालय पुगेर सेवा लिने उहाँहरुको सपना सदाका लागि अधुरो रह्यो ।

सामरी खोलामा लामोसमयदेखि पुलको व्यवस्था नहुँदा र बन्दै गरेको पुलले समेत पूर्णता नपाउँदा स्थानीयहरु वर्षायाममा हप्केलामा जिउ राखेर गाउँपालिकाको कार्यालयसम्म आउन बाध्य भएका छन् । एक महिनाको अवधिमा गाउँपालिकाको कार्यालयमा आउँदै गर्दा चारजना स्थानीयहरुको सामरी खोलाले ज्यान लिइसकेको छ ।

यद्यपि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर गुमागाईंले भने अब आफू पुल निर्माणको ठेक्का लिएको निर्माण कम्पनीसँग सम्झौता रद्द गर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले आफूले स्पष्टरुपमा निर्देशन दिएको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाको नागरिक सेवा लिन आउनेक्रममा ज्यान गुमाउनु दुःखद भएको बताउँदै गढीका रहेका नदीमा पुल निर्माणमा आफूहरु तीव्र गतिमा लागेको बताउनुभयो । संघीय र प्रदेश सरकारले निर्माणको जिम्मा लिएका कारण पनि आफूहरुले केही गर्न नसकेको बताउनुभयो ।

पुल निर्माण अलपत्र
सामरी नदीमा पुल निर्माणको जिम्मा लिएको नागार्जुन शंकरमाली जेभीले भने समयमा काम सकेको छैन । उसले ५ करोडमा तीस महिनाभित्र पुल निर्माणको जिम्मा लिएको भए पनि चार वर्ष भइसक्दा समेत पुल निर्माणमा खासै प्रगति भएको छैन ।

यसका सञ्चालक दीपक सापकोटाले अबको वर्षायाममा भने पुल पूरै निर्माण गरेर हस्तान्तारण गर्ने बताउनुभयो । उहाँले धेरै कारणले समयमा पुल बनाउन नसकेको जिकिर गर्दै आफूले समयमा काम नसकेका कारण म्याद थप भएको स्वीकार गर्नुभयो । म्याद थप्दै सहुलियत लिँदै ठेकेदार अगाडि बढेका कारण पनि नागरिकहरुको ज्यान जानेक्रम भने बढेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्