पाटनले ५३ लाख अनियमितता गरेको ठहर



विनोदसिंह विष्ट, बैतडी
पाटन नगरपालिकाले गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७ सय २१ रुपियाँ अनियमितता गरेको पाइएको छ । नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले अनियमितता गरेको देखिएको हो ।

पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।

छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बिल भरपाई फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ । समितिले कोभिड–१९ को रोकथामका लागि खर्च गरिएको रकममा अनियमितता देखिएको जनाएको छ ।

छानबिन समितिका संयोजक भीमदत्त भट्टले प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ को नियन्त्रणका लागि खरिद गरिएका औषधि, आरडीटी किटमा समेत आर्थिक ऐन–नियमविपरीत खर्च गरेको देखिएको बताउनुभयो । यस्तै गाडीभाडा, राहत वितरण, राष्ट्रपतिको स्वागत कार्यक्रम, इन्धन र सवारीसाधनलगायतका शीर्षकमा पनि अनियमितता भएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै आइसोलेसन कक्ष निर्माण, सञ्चार शीर्षक, तालिम कार्यक्रम, सवारीसाधन मर्मत, भ्रमण भत्तालगायतका शीर्षकमा खर्च अनियमित भएको समितिले ठहर गरेको छ ।

यस्तै डिपीआर, सडक निर्माण, विविध, सरसफाई तथा संरचना निर्माण, पत्रपत्रिका तथा सूचना प्रकाशनलगायतका शीर्षकमा अनियमिततारूपमा खर्च भएको समितिको ठहर छ । अनियमित खर्च गर्नेमा जनप्रतिनिधिदेखि कर्मचारीसम्मको संलग्नता रहेको समितिले औंल्याएको छ ।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरूले औंल्याएको खर्च असुलउपर गर्नसमेत नगरपालिकालाई आग्रह गरेको छ । छानबिनका क्रममा आफूलाई नगरपालिकाको लेखाशाखाबाट शंकास्पद कागजपत्र माग्दा नदिएको समितिले आरोप लगाएको छ ।

यसका साथै नगरपालिकाको लेखा समितिको प्रतिवेदन पनि माग गर्दा आफूहरूले नपाएको छानबिन समितिका संयोजक भट्टले बताउनुभयो ।

छानबिन समितिले प्रतिवेदनमा औंल्याएका कुराहरू कार्यान्वयन गर्ने र असुलउपर गर्नुपर्ने रकम असुलउपर गरिने नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभएको छ ।

पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्