सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवालाको ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल



काठमाडाैँ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । आज हेटौंडा–१३ स्थित बृन्दावन बनस्पति उद्यानको अनुगमन, निरीक्षणका क्रममा मुख्यमन्त्री पौडेलले राज्यको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने र महत्वपूर्ण अर्थ राख्ने वनस्पति अध्ययन केन्द्र तथा उद्यानको न्यूनतम प्रयोग समेत हुननसकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले नेपालमा भएका यस्ता अध्ययन केन्द्रहरुले नेपाली वनस्पतिहरुको संरक्षण गर्दै अधिकतम् उपभोग गर्न सकिनेबारे योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशमा भएका जडिबुटीजन्य वनस्पतिहरुको उपभोग गर्न तथा प्रशोधन गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गर्न चाहेको उल्लेख गर्नुभयो । पौडेलले जडिबुटीहरुको संरक्षणमा सङ्घीय सरकारसँग समन्वयमा काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

अनुगमनका क्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले प्रदेशले जडिबुटी खेती तथा प्रशोधन कार्यमा लगानी गरी रोजगारी श्रृजना गर्ने एवं आर्थिक लाभ लिने योजना तयार पारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्