अनुगमन टोली पुगेपछि धुम्बाराहीका तरकारी व्यापारी पसल छोडेर भागे

होलसेलले सामान फिर्ता लिँदैनन्, कीरा परे पनि बेच भन्छन् : व्यापारी



न्युज अफ नेपाल, काठमाडौं ।

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नं. स्टलका व्यापारी थिए । बाँकी पसलमा थिएनन् । बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । स्टल २ का व्यापारी बद्री शिवाकोटी भन्दै हुनुहुन्थ्यो -‘ ठूला व्यापारीले गलत गरे होलान् समस्या हामी साना व्यापारीलाई हुन्छ । उनको यो भनाइबाट बुझ्न सकिन्छ । अरु व्यापारी अनुगमन टोली आएको खवर सुनेर पसलबाट हिँडेका हुन् ।’

पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए । पूजा गर्दा बालेको बत्ती निभेकै थिएन । शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए -‘ पानी परेर सामान नआएर बेच्नका लागि सामान छैन ।’

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो । मैदामा चिल्याँसा परेको थियो । त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो । पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भन्दैहुनुहुन्थ्यो-‘ कालो दाल भर्खर ल्याएको । यो दालमा ल्याउँदै कीरा थियो । कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त? ‘प्रश्नको उत्तरमा उनले भनिन् -‘ एउटाबाट फिँजियो होला ।’

अनि सबै सामान त ओसिएको छ त? प्रश्नमा जवाफ दिँदै उनले भनिन् —’ पानी परेर सबै ओसियो । ‘

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ के. जी. आँटा, १० के. जी. सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० के. जी. मासको दाल, ९० के. जी रहरको दाल बिक्री रोक्का गरेको छ ।

अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्