डाक्टरविहीन केशरपुर स्वास्थ्य केन्द्र



बैतडी, (नेस)

बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ । स्थापना भएको १६ वर्षपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको थियो । गएको एक वर्षयता स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो ।

एक जना मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडका स्थानीयलाई निकै समस्या भएको छ । लकडाउनका बेला आकस्मिक बिरामीहरूलाई अस्पतालमा पु¥याउन निकै समस्या भएको स्थानीयले बताएका छन् ।

लकडाउनको अवधिमा समेत हातखुट्टा फेक्चर भएका धेरै बिरामी आएका र उनीहरूलाई रिफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृतको दरबन्दी छ । तर, दरबन्दीअनुसार डाक्टर छैनन् । डाक्टर नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’ –उहाँले भन्नुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सीमावर्ती भारतीय बजारमा उपचारका लागि जानेहरूसमेत लकडाउनका कारण जान नसकेको स्थानीय सुरेन्द्रबहादुर चन्द बताउनुहुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

डाक्टरको अभावमा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एक्स–रे, ईसीजीलगायतका मेसिन प्रयोगविहीन भएका छन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक मारमा परेका छन् । पोस्टमार्टम गराउन पनि पाटन पु¥याउनुपर्ने अथवा डाक्टरलाई मेलौली बोलाउनुपर्ने बाध्यता रहेको जनस्वास्थ्य निरीक्षक दयाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्