घरमै पुगेर ललितपुर प्रमुखले भने- ‘गेटवेल सुन’



न्युज अफ नेपाल, ललितपुर।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बुधबार बिहानै हरिसिद्धि पुगे । साथमा थिइन्, महानगरका उपप्रमुख गीता सत्याल , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला, ललितपुर महानगरपालिका कोभिड फोकल पर्सन देवी गुरुङ, केस इन्भेटिगेसन कन्ट्याक ट्रेसिङ ( सिआइसिटी)को समूह । हरिसिद्धीमा कुनै सभा, सम्मेलन , शिलान्यास, उद्घाटन केही थिएन ।
नगरप्रमुख सहितको त्यो समूह त्यहाँ कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला बढाउन पुगेका थियो । त्यहि क्रममा युनिसेपले उपलब्ध गराएको डिग्निटी किटमा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको थियो ।
मास्क, पन्जा लगाएका प्रमुख महर्जनले उक्त किट दिदैं भने,‘ म यहाँको स्वास्थ्य लाभको कामना गर्न आएको हुँ , आराम गर्नुस् , अप्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ । ’ घरको आँगनमा उभिएका उनले संक्रमितको परिवारको कुरा ध्यान दिएर सुने । चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरे ।
उक्त किटमा महानगरले सिटामोल र जीवनजल थपेर संक्रमितलाई दिएको थियो । उपप्रमुख गीता सत्यालले सन्त्वना दिदैं भनिन् ,‘आत्मबल बढाउनुस् , तपाई छिट्टै निको हुनु हुनेछ । ’ संक्रमितको कुरा ध्यान दिएर सुनेकी उनले कोभिडसँग लड्न आत्मविश्वास र सतर्कता आवश्यक भएकोे बताइन् ।
वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला प्रदान गरे । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्वास्थ्यलाभको कामना गरे । उनले छिटो निको भएर महानगरपालिका आउन अनुरोध समेत गरे ।
कोभिड संक्रमितका लाथि थप पोषण आवश्यक पर्ने भएकाले उक्त किटमा पोषण युक्त पीठो थप्ने महानगरपालिकाले जनाएको छ । उक्त पीडो नेपाल युथ फाउण्डेसनले उपलब्ध गराउन लागेको हो । महानगरपालिकाका अनुसार महानगरभित्र तीन सय जना संक्रमित होम आइसोलेसनमा छन् ।
हाललाई असोज १ गतेदेखि संक्रमण देखिएकालाई डिगनिटी किट दिइएको हो । किट प्रदानको सुरुवात प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै अन्य संक्रमितलाई वडा मार्फत महानगरले जनाएको छ । उक्त किटमा स्यानिटाइजर, पानी सुद्धिकरण गर्ने औषधि पियु्स , भाडा माँझ्ने साबुन, मास्क, थर्मोमिटर छन् । महिलालाई दिइने किटमा स्यानिटरी प्याड राखिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्