राजस्व संकलनमा लक्ष्य हासिल



अमृत अर्याल, स्याङ्जा

बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यको नजिकै अर्थात् ९३ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

नगरपालिकाले विभिन्न आयका शीर्षकबाट ४ करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा ४ करोड २१ लाख राजस्व संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । कोभिड–१९ का कारण लागू गरिएको बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक पुग्ने गरी राजस्व संकलन भएको छ नगर प्रमुख खाँणले भन्नुभयो– ‘बन्दाबन्दीको असरका बाबजुत पनि लक्ष्यको नजिकै पुग्न सफल भयौैं, नत्र भने लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अवस्था थियो ।’

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट ८९ लाख ५९ हजार राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले १ करोड २० लाख राजस्व संकलन गर्ने अनुमान गरेको थियो ।

नगरपालिकाले सिफारिस दस्तुरबाट ५३ लाख ५८ हजार, एकीकृत सम्पत्ति करबाट ४९ लाख १५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ४२ लाख ८७ हजार, नक्सापास दस्तुरबाट ३२ लाख ४९ हजार, घरबहाल करबाट ३० लाख ६६ हजार, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाई) बाट १९ लाख ७४ हजार, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजस्व बाँडफाँड भई प्राप्त भएको १८ लाख ५३ हजार रुपियाँ राजस्व संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा ४ करोड १२ लाख ५५ हजार ७८७ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्