मध्यपहाडी लोकमार्गको सहस्रधारामा निरन्तर पहिरो,अबरुद्ध सडक एकतर्फी सुचारु



दुर्गाप्रसाद शर्मा,पर्वत ।

भारी बर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक रुपमा बन्द हुन थालेको छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । मंगलबार राती देखि अबरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजे पछि एकतर्फी सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार राती देखि अबरुद्ध सडक दिउँसो मात्रै सुचारु भएको छ । पहिरो ठुलो भएका कारण ढुंगा र लेदो बगेर आउँछ । बर्षा हुँदा स्काभेटर प्रयोग गरेर हटाउन समेत कठिन भएकाले बुधबार पनि १२ घण्टा पछि मात्रै सुचारु गर्न सकिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।

कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठुलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अबरुद्ध भएको थियो भने पछिल्लो समय सडकको शुरुवात भएकै ठाउँमा पहिरो गएपछि दैनिक रुपमा यातयात अबरुद्ध हुँदै आएको छ ।

सडक अबरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन । अहिले लामो दुरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अबरुद्ध हुँदा त्यसले यातयात ब्यबसायी र यात्रु नराम्रो संग प्रभावित हुन पुगेका छन ।

शुरुमा ढुंगा खसेपनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । गएको भदौ २८ गते पछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन पछि मात्रै अबरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ ।

दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ ।

भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउनुहुन्छ । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन ।

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आषिश थापा मगर बताउनुहुन्छ ।

‘शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरि खन्नुपर्ने हुन्छ।’ उहाँले भन्नुभयो ‘बर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।’ सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको उहाँको भनाई छ । यस पटक बर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रकृया थालिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्