कानुन र मानवतालाई व्यवहारमा नियाल्दा



लालतारा अधिकारी

आजभोलि कोभिड–१९ ले मानिसहरुलाई घरभित्रको बन्दीमा परिणत गरिदिएपछि मोबाइल निरन्तरको साथी बन्न पुगेको छ । मोबाइलमा फेसबुकका भित्ताहरु नियाल्नु प्रायः मानिसको दिनचर्या बनेको छ । फेसबुकका भित्ताहरु चहार्ने क्रममा एकाएक आँखा अडिन पुग्छन्, एक अग्रज एवं विद्वान् व्यक्तिको पेजमा । त्यहाँ शेयर गरिएको एउटा भिडियोले मन मात्र छोएन चेतनाको तलाउमा ठूलै तरङ्ग पैदा ग¥यो । अनैकौं प्रश्नहरु उब्जायो । के हाम्रो देशमा अब मानवता हराएकै हो त ? के हामी नेपालीहरुले आफ्नो सहयोगी मनहरुलाई निमिट्यान्न पारी रित्याएकै हौं त ? अनि हाम्रो दयाभाव बोक्ने सभ्यतामा पनि छेद परेकै हो त ?

यी र यस्ता अनेकौं प्रश्नहरुले मनलाई उकुसमुकुस पार्दै थियो एकातिर भने अर्कोतिर विगतको कुनै तालिमका क्रममा प्रशिक्षकज्यूले ‘तपाईं–हामीले यस्तो अवस्था सिर्जना हुन नदिनका लागि काम गर्ने हो’ भनी एउटा फोटो देखाउनुभएको कुरा पनि झल्याँस्स याद आयो, जुन फोटोमा सुडानको एउटा फुडक्याम्पमा खाना वितरण भइरहेको ठाउँमा पुग्न एउटा भोकका कारण मृत्युसँग जुध्दै गरेको सानो बालक, जो क्याम्पमा नपुग्दै मृत्युको मुखमा पुगेको तस्वीर कुनै फोटो पत्रकारले आफ्नो क्यामरामा कैद गर्न भ्याएका थिए । पछि ती पत्रकारले ठूलै पुरस्कार पनि हात पारे तर पुरस्कार पाएको केही दिनपछि उनले आत्महत्या गरे रे । कारण थियो– फोटो खिच्नुको सट्टा त्यो बालकलाई त्यो क्याम्पसम्म लगिदिएको भए ऊ बाँच्थ्यो कि भन्ने कुराको पछुतो ।

ठीक त्यस्तै मनलाई विक्षिप्त बनाउने खालको थियो फेसबुकमा अपलोड भएको त्यो भिडियो । त्यहाँ दृश्यमा झुस्स दारी पालेको एक व्यक्ति देखिन्थे, जो फोहोर एवं झुत्रेझाम्रे भेषमा थिए । लाग्थ्यो– परिस्थितिको हुन्डरीले लखेटेर भाग्दै गर्दा मानसिक सन्तुलनमा पनि विचलन थियो उनमा । अभाव र अवहेलनाहरुका चोटैचोट लागेर छिन्नभिन्न भएको मन बोकेर आफ्नो कमजोर शरीरलाई जसोतसो शहरी सडकका पेटीमा घिसार्दै गरेका ती व्यक्ति हाम्रै राजधानीको कुनै एउटा चालू जुत्ता पसलअगाडि बसिरहेका देखिन्थे ।

दृश्यमा उक्त स्थानमा वरपर रहेका पसलका साहुजीरुपी गैरमानवहरुले आफू के गर्दै छु भन्ने कुनै ख्याल नगरी प्रहरीसमेतको सहायता लिँदै निज व्यक्तिलाई त्यहाँबाट लखेट्नका लागि लठ्ठीले घोच्दै, बलसमेत प्रयोग गरिरहेका थिए । त्यति मात्र नभई हातले भ्याएसम्मको बल लगाएर उनलाई लडाएरै छोडे । त्यसले पनि नपुगेर प्रहरीले पनि आफूसँग भएको लौरोले खुट्टैखुट्टामा हानिरहेका थिए । वरपरका व्यक्तिहरु विनाप्रतिक्रिया मौनतापूर्वक त्यो दुःखदायी दृश्यलाई मानौं कुनै नयाँ चलचित्रको सुटिङझैँ बडो ध्यानपूर्वक नियालिरहेका देखिन्थे ।

ती व्यक्ति जो कुनै गल्तीविना यातना भोगिरहेका थिए, उनी पिटाइका डामहरुलाई सुमसुम्याउँदै आफूलाई नपिट्न हातको सहारा र आँखाको विनयपूर्ण इसाराले विनम्र अनुनय गर्दै थिए तर सम्पन्नताले उन्मत्त भएकाहरुलाई के थाहा अरुको पीडा र मर्म ? भिडियोको पोस्टकर्ताले भने पक्कै ती पीडितको मनोभाव बुझ्नुभएको रहेछ । किनकि आफूलाई दुःखी महसुस गर्दै खै मानवता ? भनी समाजका सर्टिफिकेटद्वारा सचेत भनिएका र गनिएकाहरुको बौद्धिकतालाई प्रश्न गर्नुभएको छ ।

त्यो पीडितको अनुभूितलाई समानुभूति गर्दै उसका मनमा उब्जेका सम्भावित प्रश्नहरु अघि सार्नुभएको छ ‘यो मेरो पनि देश हो, आफ्नो घर नभए पनि । म पनि यही देशको नागरिक हुँ, नागरिकताको प्रमाणपत्र छैन तापनि । ए दानवहरु हो, तिमीहरुको जति अधिकार छ यो देशमा मेरो पनि त्यति नै अधिकार छ । प्रहरी मेरो साथी भन्ने बोर्ड पढिन्छ, यहाँ प्रहरीको साथ कसलाई ?’

एक कानुनकर्मीको हैसियतले स्वाभाविकै रुपमा यी हरफकारलाई केही सोच्न र त्यससम्बन्धमा कलम चलाउन बाध्य बनायो । के साँच्चै घर नभएकाहरुले आफ्नो देशमा कतै स्वतन्त्रतापूर्वक उभिन मिल्दैन ? अनि मानसिक रोगीहरुले बाँच्न पाइन्न ? के राजधानीका सडक–पेटी पनि घरधनी वा व्यापारीले नै खरिद गरेका वा उनीहरुका पिता–पुखार्का बिर्ता हुन् त ? कानुनी मापदण्डलाई मिच्दै पदयात्रीको लागि राज्यले राज्यको ढुकुटी खर्च गरी बनाइदिएको सडकका पेटीहरुमा लाजै नमानी आफ्ना बिक्रीका सामान फिँजाउन मिल्ने अनि गरिब–दुःखीले भने पानी पर्दा ओत लाग्न वा घाम चर्किंदा छायामा बस्न पनि नमिल्ने ?

यस्तोे कानुनी व्यवस्था त हाम्रो देशमा कहीँ छैन तर पनि कसरी यस्ता घटनाहरु पटक–पटक दोहोरिइरहेका पाइन्छन् ? के यो मानव सभ्यता र मानवतामाथि नै प्रश्न होइन र ? को हो यो प्रश्नको उत्तरदाता ? आखिर के हुँदै छ हाम्रो देशमा ? के निमुखाले बाँच्न नपाउने ? के सबै नागरिक समान हैनन् र यसरी सामाजिक सञ्जालमा फिँजिएको यो भिडियोले सिंगो नेपाली समाजको नैतिक दायित्वमाथि प्रश्न खडा गरिदिएको छ ।

संवैधानिक राज्यको गरिमामाथि पनि जटिल प्रश्न उठेको छ । के संविधानले प्रदत्त गरेका नागरिकको मौलिक हक अधिकारलाई खुलेआम हनन गर्न पाइन्छ ? के यो कानुनसम्मत छ ? अनि आवाजविहीनहरु वा आर्थिक हैसियतले कमजोरहरुका लागि कानुनी उपचार छैन ? खोइ मानवता ? अनि खोइ कानुन ? कानुन मानव हक–अधिकारको संरक्षक र प्रहरी जनताको रक्षक हैन र ?

अनि फेरि मानवता र कानुन एक–अर्काका परिपूरक विषयवस्तु पनि त हुन् नि । मानवता कायम राखी मानिसका हक–अधिकारको संरक्षण गर्नका लागि त कानुन निर्माण गरिएको हुन्छ । कोरोनाले ग्रसित यो विश्व परिस्थितिमा पनि दानवी व्यवहार भएका मानव अनुहारहरु तल्लीन भएकै कारण कानुन र मानवताको सम्बन्ध टाढिँदै जाने स्थिति बन्दै छ ।

माथि वर्णित प्रतिनिधि घटना हो । यस्ता मानवअधिकार हननका घटनाहरु दिनानुदिन बढोत्तरीमा छन् । अधिकार चाहे निमुखाको होस्, चाहे बोलवालाहरुको होस्, आखिर दुवै मानिस कानुनको दृष्टिमा त बराबर नै हुन् । अनि यो विभेद किन ? संविधान र कानुनले यस्तो गर्न कतै निर्देशित गरेको त छैन । यस स्थितिमा मानवता र कानुनको सम्बन्धलाई मजबुत बनाइराख्नु आजको आवश्यकता हो र यो जरुरी पनि छ । सबै नागरिकका हक–अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो ।

कोही कसैलाई देवताका नाममा छोडेका बोकाहरुझैँ मनपरि गर्ने छुट हुनुहुन्न, न त कसैले बोल्न नसकेकै कारण विनाअपराध सजाय भोग्नुपर्ने र दुव्र्यवहार सहँदै सामाजिक सञ्जालका भित्ताहरुमा अरुको मनोरञ्जनको साधन बन्नुपर्ने अवस्था रहनुहुन्छ । यस्ता गैरकानुनी गतिविधिमाथि राज्यले कडाइ नगर्ने हो भने कानुन र मानवताबीचको सम्बन्धमा दरार पैदा हुने निश्चित छ । परिणामस्वरुप अराजक मानसिकता जन्मदै जाँदा मानिसमा अपराधी प्रवृत्ति बढ्दै जानेछ र हाम्रा पछिल्ला पुस्ताहरुले पुनः जंगली युग बेहोर्नुपर्ने भविष्यवाणी गर्नु पनि अतिशयोक्ति नहोला ।
(लेखिका अधिकारी अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्