१२ वर्षपछि बलात्कारी पक्राउ



इलाम, (नेस)

सामुहिक बलात्कार काण्डमा फरार रहेका दुई जना अभियुक्तलाई इलाम प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत इलामबाट दोषी ठहर गरी सजायको फैसला सुनाएपछि फरार रहेका इलाम चुलाचुली गाउँपालिका–३ का ३० वर्षीय अनिश राई र सोही स्थानका ३१ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यन्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत प्रहरीले फरार अभियुक्तको खोजीलाई तीव्रता दिँदै आएको छ । सो क्रममा लुकीछिपी बसेका ती दुई जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । २०६४ सालमा झापाको साधुहोली जंगलमा युवतीलाई सामूहिक बलात्कार गरेर फरार रहेका थिए । पक्राउ परेका दुवैलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र दुवैलाई जनही २१ ह्जार रुपियाँ जरिवाना तोकिएको थियो ।

उनीहरूलाई इलाम जिल्ला अदालतमा पेस गरेर कैद भुक्तानका लागि कारागार चलान गरेको बताइएको छ । सोही मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेको र एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी, फैसला कार्यान्वयअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरार प्रतिवादीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सूर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत ठगी मुद्दा, सोही नगरपालिका–५ का ४४ वर्षीय हर्कबहादुर लिम्बु हातहतियार खरखजना मुद्दा र माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेका थिए ।

उनीहरू तीनैजनालाई पनि पक्राउ गरेर आवश्यक कैद भुक्तानका लागि प्रक्रिया अघि बढाइसकेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्