अफ्रिदीले लिए ४ बलमा चार विकेट



लन्डन, (एजेन्सी)

पाकिस्तानका फास्ट बलर साहिन अफ्रिदीले इंग्ल्यान्डमा जारी भिटालिटी टी २० ब्लास्टमा इतिहास रचेका छन्। आइतबार भएको खेलमा साहिनले ४ बलमा चार विकेट लिएर पाकिस्तान क्रिकेटमा समेत नयाँ कीर्तिमान बनाएका हुन्। टी –२० क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी पाकिस्तानका पहिलो बलर हुन् ।

ह्याम्सायरका साहिन एक्लैले विपक्षी टोली मिडलसेक्सको ब्याटिङ क्रम ध्वस्त पारेर हारेको खेललाई जित दिलाएका थिए। जोन सिम्पसनको ४८ रनको सहयोगमा मिडलसेक्सलेले १ सय ४२ रनको लक्ष्य पछ्याइरहेको थियो। टोली जितको निकट पनि पुगेको थियो। १८औं ओभरमा ६ विकेटको क्षतिमा १ सय २१ रन थियो। मिडलसेक्सलाई जितका लागि २७ रनको आवश्यक थियो।

१८औं ओभरको चौथो बलमा साहिनले जमिरहेका सिम्पसनलाई योर्कर बलिङ गरेर बोल्ड गरे। उनले यसपछि आएका स्टेभेन फिनलाई योर्कर नै बलिङ गरेर गोल्डेन डक (पहिलो बलमा आउट भएको) आउट गरेका थिए। त्यसपछि आएका थिलान वालालाबिटा र टिम मर्तागलाई पनि पहिले झंै बोल्ड गरेका थिए।

२० वर्षीय साहिनले चार योर्कर बलिङ गरेर लगातार चार विकेट लिएर २० रनकै जित दिलाए। सो खेलमा उनले १९ रन दिएर ६ विकेट लिएका थिए। यो उनको टी–२० मा व्यक्तिगत उत्कृष्ट बलिङ फिगरसमेत हो।

प्रतिक्रिया दिनुहोस्