वैदेशिक रोजगारीबाट फर्किएपछि बाख्रापालन



प्रताप बानियाँ, म्याग्दी

म्याग्दीका पाँच युवाले वैदेशिक रोजगारीबाट फर्किएर सामूहिकरूपमा व्यावसायिक बाख्रापालन शुरू गरेका छन् । विदेश आर्जनमा गरेको सीप र कमाईलाई गाउँ फर्किएर लगानी गरेका हुन् ।

बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका पाँचजना युवा मिलेर सामूहिक लगानीमा व्यावसायिक बाख्रापालनलाई अगाडि बढाएका छन् । डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँवर, रेशम कुँवर र रामजी कुँवरले दुई करोड रुपियाँको लगानीमा बाख्रापालन थालेका हुन् । उनीहरुमध्ये देव जिसी साउदी अरब र रेशम तथा रामजी कुँवर दक्षिण कोरियामै कार्यरत छन् ।

एकता एग्रो रिसर्च एन्ड रिसोर्ट प्रालि दर्ता बाख्रापालन शुरु गरेका हुन् । जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ३२ वटा बोयर तथा स्थानीय जातका बाख्रा पालिएको फर्मका प्रोप्राइटर महेन्द्र बानियाँले जानकारी दिनुभयो । शुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी व्यवसाय शुरु भएको थियो ।

सामूहिक लगानीको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत खरी, जमुनापारी, बारबारी जातका स्थानीय बाख्रा पालिएको छ । उक्त फर्ममा अहिले ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउ बाख्रा छन् । फर्ममा अहिले बोयर जातका ७ वटा बोकालाई बीउँको रुपमा राखिएको छ ।

अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ भने प्रतिकिलो जिउँदो बाख्राको मूल्य पाँचसय रुपियाँ तोकिएको छ । दशैंमा १३ वटा खसी–बोका बिक्री गर्ने तयारी गरिएको फर्मका सञ्चालक महेन्द्र बानियाँले बताउनुभयो । व्यावसायिक रुपमा सञ्चालित बाख्रापालनका लागि जग्गा खरिदमा एक करोड र बाख्रा खरिद तथा संरचना निर्माण गर्न एक करोड रुपियाँ लगानी भएको फर्मका अर्का सञ्चालक ध्रुव कुँवरले जानकारी दिनुभयो ।

फर्ममा पालिएका बाख्रालाई घाँस खुवाउनका लागि चारवटा साइलेज (घाँस राख्ने खाडल) निर्माण गरिएको छ । उक्त साइलेजमा वर्षात्को समयमा काटेको घाँस नुन छर्किएर हावा नजाने गरी राख्ने र जाडो याममा बाख्रालाई खुवाउने गरिन्छ । यसरी खाडलमा राखिएको घाँस ४५ दिनपछि डेढ वर्षसम्म खुवाउन मिल्ने सञ्चालकद्वयको भनाइ छ ।

बाख्रापालन व्यवसायका लागि १० रोपनी जग्गा बन्धकीसहित ८० रोपनी जग्गा खरिद गरी ५ रोपनीमा संरचना निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस खेती लगाइएको छ । बाख्रालाई घाँस खुवाउन वर्षे घाँसअन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपिएको छ । यस्तै डाले घाँसतर्फ कोइरालो, ईपिलीपी, रायखन्यु, कुटमेरो, फोस्रो, अम्लिसो, खनिउ, बकाईनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस लगाइएकोे छ ।

स्वदेशमै केही गर्ने योजनासहित स्थापना गरिएको एकता एग्रो रिसर्च एन्ड रिसोर्ट प्रालिले दुईजनालाई रोजगारीसमेत दिएको छ । अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाईलगायत काम गर्नका लागि उनीहरुलाई रोजगारी दिइएको हो ।

गाउँमै रोजगारीको अवसर पाएपछि उनीहरुलाई फर्मले मासिक रुपमा १०÷१० हजार रुपियाँ तलब दिने गरेको छ । आगामी दिनमा व्यवसायको क्षमता विस्तार गरी थप रोजगारीसमेत सिर्जना गर्ने सञ्चालकहरुको योजना छ ।

व्यावसायिक बाख्रापालनका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २२ लाख रुपियाँ ऋण स्वीकृत भएकोमा १० लाख रुपियाँ लिएर लगानी गरेका छन् । यसैगरी बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा युवा तथा व्यावसायिक कृषकलाई अनुदान, बीउँ पुँजी, कृषि औजार सहयोग तथा तालिम गोष्ठीका लागि कृषितर्फ ६० लाखभन्दा बढी र पशुतर्फ २९ लाख रुपियाँ बजेट विनियोजन गरेको बेनपा–४, सिंगाका वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

फोटो क्याप्सन ः बाख्रा फर्मका सञ्चालकद्वय महेन्द्र बानियाँ र ध्रुव कुँवर ।

प्रतिक्रिया दिनुहोस्