तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरू



मिला दरै, तनहुँ

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरू भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण थालिएको हो ।

प्रसारण लाइन निर्माणका लागि शुरूको टावरको जग खनेर कार्य शुरू गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले बताउनुभयो । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिने घिमिरेको भनाइ छ । भारतीय कम्पनी केईसीले ठेक्का पाएको प्रसारण लाइन निर्माणका लागि शुरूको टावरको जग खनिएको र अब कामलाई तीव्रता दिन घिमिरेले जानकारी दिनुभयो ।

‘प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ,’ उहाँले भन्नुभयो–‘प्रसारण लाइनको काम अगाडि नै शुरू गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को संक्रमणले गर्दा ढिलाइ भयो ।’

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर भारतीय सिमानासम्म आइसकेको घिमिरेले बताउनुभयो । ‘अब हिउँद शुरु भएको छ, काम गर्न सहज हुने वातावरण बन्छ र काम पनि छिटो हुनेछ,’ घिमिरेले भन्नुभयो ।

उहाँका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम थालिएको हो । विद्युत् गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि सम्पन्न भएको छ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा ७ हजार ९ सय २३ वटा रूख काट्नुपर्ने र चितवनतर्फको भागमा अध्ययन भइरहेको घिमिरेले जानकारी दिनुभयो । ‘आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको समेत काम भइरहेको छ,’ उहाँले भन्नुभयो–‘सिनो हाइड्रोले आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको विद्युत् गृहका लागि ‘केवल टनेल’ खनेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।’

पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्यांकनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए ।

पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । आयोजनाका लागि १४० मिटर बाँध, ११६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ ।

आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्