कीर्तिमानी आरोही शेर्पाको निधन



काठमाडौं, (नेस)
हिमाल आरोहणमा विश्व कीर्तिमान राखेका आङरिता शेर्पाको निधन भएको छ । विनाअक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेका शेर्पाको आफ्नै निवास जोरपाटीमा निधन भएको हो ।

सोलुखुम्वुको थामेमा जन्मिएका ७२ वर्र्षीय हिम चितुवाको नामले ख्याति कमाएका शेर्पाको निधनले आरोहणको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

उहाँले २४ वर्षअघि सगरमाथाको अन्तिम आरोण गर्नुभएको थियो । शेर्पाले पाकिस्तानको माउन्ट केटु हिमाल पनि विनाअक्सिजन चढेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले चोयु, ल्होत्से, अन्नपूर्णलगायतका दर्जनौं हिमाल विनाअक्सिजन चढ्नुभएको थियो ।

उहाँको अन्तिम संस्कार बुधबार बौद्ध धर्मअनुसार स्वयम्भूमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । १५ वर्षको उमेरबाट हिमाल आरोहण शुरू गर्नुभएका शेर्पाले पहिलो आरोहण चोयु हिमालको गर्नुभएको थियो । उहाँले पहिलोपटक विनाअक्सिजन २०४० सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो ।

आरोहणका क्रममा पटकपटक बिरामी परेपछि उहाँले आरोहण नगर्ने घोषणासमेत गर्नुभएको थियो । उहाँ कलेजो र ब्रेन ट्युमरबाट पीडित हुनुहुन्थ्यो ।

आर्थिकरुपमा विपन्न रहँदै आउनुभएका शेर्पालाई नेपाल पर्वतारोहण संघले हरेक महिना १५ हजारका दरले आर्थिक सहयोग गर्ने गरेको थियो । छोरीको घरमा बस्दै आउनुभएका शेर्पालाई नेपाल सरकारले भने खासै सहयोग नगरेको आफन्तहरूले बताएका छन् ।

शेर्पाको हिमाल आरोणका बारेमा जानकार तत्कालीन राजा वीरेन्द्रले भने शेर्पालाई सहयोग गर्नुभएको थियो । तत्कालीन सरकारले शेर्पालाई त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहुबाट सम्मानित गरेको थियो ।

हिमाल आरोहणका क्रममा बिरामी परेपछि आरोहण स्थगित गर्न राजा वीरेन्द्रले आग्रह गरेपछि शेर्पाले आरोहण नगर्ने घोषणा गर्नुभएको थियो । शेर्पाका २ छोरा र १ छोरी रहेका छन् । एक छोरा अमेरिकामा रहेका छन् भने एक छोरा सोलुखुम्बुमा बस्दै आएका छन् । उहाँकी श्रीमतीको ७ वर्षअघि नै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्