बागलुङमा प्राकृतिक प्रकोप : ५ सय ९० परिवार विस्थापित, ३७ को मृत्यु



सिर्जना पन्त, बागलुङ

बागलुङमा यस वर्षको वर्षात् शुरू भएदेखि हालसम्म बाढी–पहिरोबाट ५ सय ९० घर–परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा छन् । त्यहाँका १ सय २७ घर–परिवार विस्थापित भएका छन् ।

त्यसै गरी, निसीखोलामा १ सय २६ परिवार, बागलुङ नगरपालिकामा ६५ परिवार, जैमिनी नगरपालिकाका ५६, गलकोट नगरपालिकाका ३३, काठेखोला गाउँपालिकाका ४२, ताराखोला गाउँपालिकाका २८, बडिगाड गाउँपालिकाका ६४, बरेङ गाउँपालिकाका ४३ र तमानखोला गाउँपालिकाका ६ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढी–पहिरो तथा विभिन्न विपद्बाट विस्थापित हुने ५ सय ९० घर भए पनि परिवारका सदस्यका संख्या भने जिल्ला प्रशासन कार्यालय बागलुङसँग छैन ।

बाढी–पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित परिवारको पुनःस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालय विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखामा अनुरोध गर्दै आइतबार मागपत्र पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो ।

जिल्लामा असारदेखि हालसम्म बाढी–पहिरोमा परी ३५ जना र चट्याङ लागेर २ जना गरी ३७ जनाको ज्यान गएको छ । त्यसमध्ये ढोरपाटन नगरपालिकाका २४ जना, निसीखोलाका ४ जना, तमानखोलाका २, बडिगाडका २, जैमिनीका ३, ताराखोलाका १ जनाको ज्यान गएको छ । १६ जना अझै बेपत्ता छन् ।

बेपत्ता भएकाहरुको खोज उद्धारसँगै कसरी राहत सहयोग प्रभावकारी बनाउने भन्ने विषयमा अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले ९ सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिृकत गणेश गौतमको संयोजकत्वमा अर्जुन बाण गणका सहसेनानी सञ्जय भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसी, सशस्त्र प्रहरी निरीक्षक अनिल थापा, अनुसन्धान अधिकृत दीपेश रिजाल तथा सम्बन्धित स्थानीय तह, धौलागिरि अस्पतालका प्रतिनिधि सदस्य रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्