रिपोर्ट नआउँदा अत्यावश्यक सेवा प्रभावित



नेपाल समाचारपत्र, पाल्पा

तानसेन नगरपालिकाका कर्मचारीहरूको पीसीआर रिपोर्ट आउन ढिलाइ हुँदा फोहोर संंकलनलगायत अन्य अत्यावश्यक सेवा प्रभावित भएका छन् । वडाध्यक्ष, सदस्यलगायत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि सबै कमैचारीको एक हप्ताअघि स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरी पठाएका जनप्रतिनिधि र कर्मचारी कर्मचारीहरू पनि होम क्वारेन्टाइनमै बसेका छन् । सरसफाइकर्मी क्वारेन्टाइनमा बसेका हुँदा फोहोर संकलनको काम पनि प्रभावित छ । स्वाबको रिर्पोट नआउँदासम्म नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको यसले सेवा प्रभावित हुन पुगेको नगरप्रमुख अशोककुमार शाही स्वीकार्नुहुन्छ ।

नगरपालिकाले अर्काे व्यवस्था नहँुदासम्म फोहोरको व्यवस्थापन आफैं गर्न सूचना जारी गरेको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको समयमै रिपोर्ट नआउँदा अन्योल भएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक शीरबहादुर रानाले बताउनुभयो ।

नगरपालिकाले गत भदौ २५ गते सूचना जारी गरी भदौ २६ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको थियो । सूचनामा रिपोर्ट नआउन्जेलसम्मका लागि नगरपालिकाको कार्यालय, कार्यालय मातहत र वडा कार्यालयहरूका सेवा बन्द गरिएको जनाइएको थियो ।

जसमा नगरपालिकासँग सम्बन्धित र कन्ट्याक टेसिङमा रहेका ४ सय ४१ जनाको स्वाब संकलन गरी भैरहवा प्रयोगशाला पठाएको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन जसका कारण मंगलबारदेखि खुल्ने भनेका कार्यालय र नगरपालिकाका कार्य के गर्ने भन्ने निश्चित भइसकेको छैन ।

प्रादेशिक प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेन नगरपालिकाले पठाएका स्वाब प्रदेश प्रयोगशालाले अघिल्लो शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जनाउनुभएको छ ।

पछिल्लो समय पाल्पामा विदेश वा बाहिरी जिल्लाबाट आउनेमा मात्र होइन समुदायस्तरमा पनि कोरोना संक्रमित बढ्न थालेका छन् ।

शनिबारसम्मको तथ्यांकअनुसार पाल्पामा १६ जना स्वास्थ्यकर्मीसहित कुल १ सय ११ जनामा संक्रमण देखिएको छ ।

पाल्पामा शनिबार मात्रै १६ जना संक्रमित थपिएका छन् भने एक महिलाको मृत्यु भएको छ । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ६ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ सय ८१ जना निको भएर घर फर्किएका छन् । ४ जनाको निधन भइसको छ ।

त्यसै गरी, कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन पाल्पा आइपुगेको छ । यही हप्ताबाट परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा पीसीआर मेसिन राख्ने निर्णय गरेसँगै १ करोड रुपियाँ पठाएको थियो ।

पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएको ल्याबमा ल्याइएको र मेसिन सेटिङको काम सकेपछि र परीक्षणको काम शुरू हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । पीसीआर मेसिन सञ्चालन गर्न जिल्ला समन्वय समितिको काजीपौवास्थित भवनमा १५ कोठाको आधुनिक ल्याब तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्