सार्वजनिक यातायात आजबाट सञ्चालनमा



नेपाल समाचारपत्र, बुटवल

सार्वजनिक सवारी आजबाट सञ्चालनमा आउन थालेका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउनसँगै सार्वजनिक यातायात बन्द भएका थिए ।

करिब ६ महिना बन्द भएका लामो तथा छोटो दूरीका केही सवारी रूपन्देहीमा शनिबारदेखि सञ्चालनमा आएका थिए । सरकारले असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि स्थानीय प्रशासनले ठोस निर्णय नगरेका कारण व्यवसायी सवारीसाधन सञ्चालन गर्ने÷नगर्ने भन्ने अन्योलमा रहेका थिए ।

अन्यौैलताकै बीच यस क्षेत्रका यातायात व्यवसायीले स्वैच्छिकरूपमा क्यु फ्री गरेर शनिबारदेखि सीमित सवारीसाधन सञ्चालन गरेका हुन् ।

रूपन्देहीको पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि र सिद्धार्थ यातायात प्रालिअन्तर्गतका संस्थामा आबद्ध व्यवसायीले शनिबारदेखि लामो दूरीका केही बस सञ्चालन गरेका छन् ।

असोज ५ गतेदेखि भने तीनवटै व्यवसायिक संस्थाले समग्र क्यु व्यवस्थापन गरेर सार्वजनिक सवारी सञ्चालन गर्ने बुटवल यातायात प्रालिका सञ्चालक दीपकप्रसाद श्रेष्ठले बताउनुभयो ।

असोज ३ र ४ गते सबै गाडी क्यु फ्रीमा सञ्चालन हुनेछन् भने ५ गतेदेखि सबै व्यावसायिक संस्थाले सबै रुटमा क्यु निर्धारण गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायणप्रसाद घिमिरेले बताउनुभयो ।

नेपालीहरूको महान् चाड दशैंको मुखमा आएर सरकारले लामो समयदेखि ग्यारेज तथा यत्र–तत्र थन्किएर रहेका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि कुल क्षमताको २५ प्रतिशत मात्रै सर्वसाधारण यात्रुले सार्वजनिक सेवाको सुविधा पाउनेछन् ।

लामो लकडाउनका कारण यातायात सञ्चालन गर्न नपाएर ठूलो आर्थिक मारमा परेका व्यवसायी यात्रुले सजिलै सार्वजनिक यातायातमा यात्रा गर्छन् भन्नेमा अझै पनि ढुक्क हुन सकेका छैनन् । यही कुरालाई आत्मसाथ गरेर यातायात व्यावसायिक संस्थाहरूले कूल क्षमताको ५० प्रतिशत मात्रै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् ।

अर्कोतर्फ सरकारले निर्धारण गरेको ५० प्रतिशत यात्रु बोक्न पाउने प्रावधानका कारण त्यसको आधा मात्रै यात्रुले सार्वजनिक यातायातको अवसर पाउनेछन् ।

प्रशासनले जिल्लाको पूर्वनिर्धारित असोज ४ गतेसम्मको निशेधाज्ञा अवधिभर सार्वजनिक सवारी सञ्चालन नगर्न व्यवसायीलाई आग्रह गरेको थियो ।

प्रशासनकै आग्रह अनुसार २ दिन क्यु फ्रीमा सीमित गाडी सञ्चालन गरेको र ५ गतेदेखि समग्र क्यु व्यवस्थापन गरेर सबै रुटमा गाडी सञ्चालन गर्ने तयारी गरिएको बुटवल यातायात प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्