बुसान फिल्म फेस्टिवलमा अर्को फिल्म जुलुङ्गो



यस वर्षको बुसान इन्टरनेसनल फिल्म फेस्टिवलमा राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म जुलुङगो (अ स्केयरक्रो) पनि छनोट भएको छ। जुलुङगो बुसानको वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसनअन्तर्गत छनोट भएको हो।

बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्टमा प्रतिस्पर्धामा जुलुङगो छनोट भएको हो। यससँगै यस वर्ष बुसानमा दुई नेपाली फिल्म छनोट भएको छ।

यसअघि नेपाली कथानक फिल्म ऐना झ्यालको पुतली मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो। कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिवल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबार जुलुङगोको पोस्टर सार्वजनिक गरेको छ।

वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसनका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुङगोे पनि परेको हो। नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यो फिल्मको निर्माता भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र सुक फोङ चोक (हङकङक) हुन्।

यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया र बंगलादेशका फिल्म छानिएका छन्। छानिएका अधिकांश फिल्म अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन्। यस सेक्सनको विजेताले सोन्जी अवार्डका साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार नेपाली रुपियाँ) पाउनेछ।

मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहर आफंैभित्र राखेर घरायशी काममा सीमित राख्नुपर्ने बाध्यता नै जुलुङगोको कथावस्तु हो।

पश्चिममा भ्याउना भनेर भनिने जुलुङगोेको अर्थ बालीनाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याचा भन्ने हुन्छ। फिल्म बुख्याचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट वञ्चित भएकी बालिकाको कथामा छ।

मुगुको दुर्गम गाउँका शिक्षकसमेत रहेका निर्देशक राजेशप्रसाद खत्रीले आफ्नै वरिपरिका दुःख साट्न फिल्म निर्माणको हुटहुटी जागेको बताए।

‘विद्यार्थीसँग मेरो गहिरो आत्मीयताका कारण उनीहरुका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा।’ –उनको भनाइ छ। उनको यसअघिको फिल्म जालगेडी पनि मुगुकै परिवेशमा बनेको थियो।

जसले थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो। सीडीपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्म्स् प्रोडक्सनसँगको सहकार्यमा शून्य फिल्म्स्ले निर्माण गरेको फिल्ममा सिनेमाटोग्राफी शिशिर बिसांखे र सम्पादन किरण श्रेष्ठले गरेका छन्। फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भामलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्