बझाङ विमानस्थल निर्माण कार्य अन्तिम चरणमा



ललित सिंह, बझाङ

एक दशकदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको कालोपत्रेसहित वरिपरि तारबार लगाउने काम र नाली निर्माणको काम सकिएको हो ।

ट्रमिनल भवनबाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । विमानस्थल सुचारु गर्न पटकपटक दबाब दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो ।

करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्ट्रक्सनले विमानस्थललाई स्तरोन्नति गर्ने जिम्मा पाएको थियो । २०७७ वैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विमानस्थल निर्माणको काम प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डंगोलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘करिब ६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ । अब विमानस्थलको
साइड फिलिङको काम मात्र बाँकी छ ।’ यो काम पनि असोज दोस्रो हप्ताभित्रै सकिने र दोस्रो साताभित्र परीक्षण उडानको तयारीसमेत भइरहेको उहाँको भनाइ छ ।

लकडाउनका कारण परीक्षण उडान हुन नसकेको उहाँले जानकारी दिनुभयो । उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा एरपोर्ट सुचारु हुने सक्नेछ । बन्द विमानस्थल सुचारु हुने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् ।

लामो समयपछि विमान चढ्ने बझाङबासीको सपना पूरा हुने भएको छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय भरत खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिउँ जम्मा हुने र वर्षा भएका बेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा आपत्कालीन बिरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन् ।’

विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकहरूको संख्यामा कमी आएको होटल व्यवसायी वीरेन्द्रबहादुर सिंहको भनाइ छ । उहाँले भन्नुभयो– ‘बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ । विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, मालिका गोर्खाली गुफा, कैलाश मानासरोवर, गुरेइल झर्नालगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत वृद्धि हुनेछ ।’

विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अब सरोकारवालाहरुले नियमित जहाज उडानका लागि पहल गर्नुपर्ने बझाङ जिल्लाबासीको भनाइ छ। २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय निगमबाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

द्वन्द्वकालमा माओवादीले दुईपटक विमानस्थलको टावरमा बम विस्फोट गराएपछि सुरक्षा अभावसँगै बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।

तत्कालीन समयमा शाही नेपाल वायुसेवा निगमले साप्ताहिकरूपमा उडान शुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म सडकको सजह पहँुच भएसँगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्