महुरे-फोक्सिण्टार सडकको काम सुस्त गतिमा



रामधन राई, खोटाङ ।

असोज–४, सगरमाथा लोकमार्ग अन्तर्गतको महुरे–फोक्सिण्टार सडक कालोपत्रेको काम सुस्त वनेको छ । राष्ट्रिय गौरवको आयोजनामा पारिएको गाईघाट–दिक्तेल सडकको महुरे–सिम्पानी २२ किलोमिटर र सिम्पानी–फोक्सिङटार करिव २७ किलोमिटर सडक कालोपत्रेको कार्य सुस्त वनेको हो ।

निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम सुस्त तथा गुणस्तरहीन समेत वनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाअध्यक्ष दिनेश राईले बताउनुभयो । महुरे–सिम्पानी भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी तथा सिम्पानी– फोक्सिङटारको काम जयनारायण पवन, मैनाचुली–खाम्पाचे जेभी कम्पनीले लिएका हुन् ।

खोटाङस्थित नुनथलाको महुरेदेखि राजापानीको सिम्पानीसम्म करिब ४६ करोड लागतमा गत असारसम्म काम सक्ने गरी २०७३ असारमा सम्झौता भएको थियो । उक्त सडक खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख गोपालप्रसाद ठकुरेलले जनाउनुभयो । निर्माण कम्पनीले कामदारलाई रकम नदिएपछि काम छाडेकाले समस्या आएको उहाँको भनाई छ । उक्त सडक खण्डमा कार्यरत कामदारले पारिश्रमिक नपाएको आक्रोशमा गत पुस २० देखि झण्डै एक महिना सडक निर्माणको काम ठप्प पारेका थिए । सडक गुणस्तरहीन समेत भएको भन्दै स्थानीयले पटकपटक बन्द समेत गराएका थिए ।

गत साउन ११ गते भित्र सक्ने गरी जयनारायण पवन, मैनाचुली–खाम्पाचे जेभी कम्पनीले २०७३ साउनमा सम्झौता गरेको सिम्पानी–फोक्सिण्टार खण्डको काम पनि अलपत्र रहेको छ । करिब ४९ करोड रुपैयाँ लागतमा काम गर्ने सम्झौता भएको उक्त सडक खण्डमा करिब ६५ प्रतिशत काम सकिएको आयोजना प्रमुख ठकुरेलले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्