भूकम्पपछि पुननिर्माणको क्षेत्रमा सरकारी भवन र स्वास्थ्य चौकीको अवस्था



प्रल्हाद शर्मा (हुमागाई) । 

विषय प्रवेश गर्नुपूर्व जिल्लाको भौगोलिक अवस्थाको बारेमा केही कोर्ने प्रयास गरेको छु । वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्ला मध्यपुर्वी पहाडी भु–भागमा अवस्थित जिल्लाहरु मध्ये एक हो । जिल्लाको सदरमुकाम देशको राजधानी काठमाडौंबाट करिव ३० कि.मि.को दुरीमा रहेको छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२०’ देखि २७०४५’ उत्तरी अक्षांशका बीच १४०४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा काठमाण्डौ, ललितपुर र भक्तपुर, उत्तरमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् । पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाँडा एवं साँगा भञ्ज्याङ, उत्तरमा इन्द्रावती एवं सुनकोशी नदी र दक्षिणमा कोखाजोर एवं खानी खोलाले घेरिएको यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरु रहेको यस जिल्लाको भू–भागलाई विशेषगरी कोशीपारी, तिमाल, दाप्चा, पाँचखाल र भकुण्डे उपत्यका, डाँडापारी र रोशी जस्ता क्षेत्रहरुमा विभाजन गरिएको छ । क्षेत्रफलका हिसाबले पाँचखाल नगरपालिका सबैभन्दा ठूलो मानिन्छ ।

उपत्यका क्षेत्र (धुलिखेल,बनेपा, पनौती, पाँचखाल) जस्ता क्षेत्रहरु तुलनात्मक रुपले सुगम मानिन्छन भने रोशी, कोशीपारी तथा डाँडापारीका क्षेत्रहरु अझै पनि विकट छन । समुन्द्र सतहदेखि ३ सय १८ मिटर (कोखाजोर खोला) देखि ३ हजार १८ मिटर (वेथानञ्चोकको नारायणस्थान) डाँडासम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू–धरातलले भरिएको छ । काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे र प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको इतिहासको अध्ययनबाट जानकारी भएको छ ।

यस जिल्लाको भू–बनोटका बारेमा पनि केही कुरा राख्ने प्रयास गरेको छु । जिल्लाको अधिकांश भू–भाग डाँडा, पाखा र पखेराले भरिएको छ भने कहिँ कतै पहाडको बीचबीचमा समथर टार र वेंशीहरु जस्तै मंगलटार, दाप्चाबेशी, भकुण्डेबेशी, खोपासी, कुन्ताबेशी आदि फाँटहरु रहेका छन् । महाभारत शृङ्खलाभित्र पर्ने यी क्षेत्रहरुको भौगोलिक संरचनालाई हेर्दा दक्षिणी क्षेत्र बलौटे ढुंगाले बनेको सिवालिक समुह जो चाँडो क्षयिकरण हुने खालको भू–बनोट रहेको छ भने फुल्चोकी क्षेत्रमा काठमाडौं समूहका कमजोर प्रकारको स्लेट, फाइलेट, चिटस्, सेल र चुनढुङ्गाले भरिएको छ जसमा पनि भू–क्षय बढी हुने देखिन्छ (इसिमोड १९९३), यस जिल्लामा भू–धरातलीय विविधताले गर्दा विभिन्न क्षेत्रमा विभिन्न प्रकारको माटो पाइन्छ । सामान्यतया बेशी, टार र उपत्यकाहरुमा रातो माटो प्रशस्त मात्रामा पाइन्छ भने मध्ये पहाडी क्षेत्रमा चिम्टाइलो माटो रहेको छ ।

त्यसै गरी नदी किनारका क्षेत्रहरुमा पाँगो र दोमट माटो पाईन्छ । कुल भूमिमध्ये करिव ९ दशमल्भ ७१ प्रतिशत क्षेत्र मध्यपहाडी क्षेत्र अन्तर्गत पर्दछ भने बाँकी २ दशमल्भ ९ प्रतिशतक्षेत्र सिवालिक क्षेत्र अन्तर्गत पर्दछ । यो जिल्ला दक्षिण पूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्दछ जसले गर्दा जुन देखि सेप्टेम्बर महिनासम्ममा कुल वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ भने बाँकी अक्टोबरदेखि मे महिना सम्मको आठ महिनामा २० प्रतिशत वर्षा हुने गर्दछ । बागमती जलाधार रोशी जलाधार क्षेत्र हुँदै मनसुनी वायु जाने हुँदा सबैभन्दा बढी वर्षा यसै क्षेत्रमा हुने गर्दछ ।

यो अवस्थामा काभ्रेपलाञ्चोक जिल्लालाई पनि प्राकृतिक रुपमा आइरहने विपद्ले नसताउला भन्न सकिने अवस्था रहन्न । यसको पछिल्लो प्रमाणका रुपमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिलाई लिन सकिन्छ । जुन महामारीको रुपमा स्थापित हुन पुग्यो । सो विषयमा सरोकार राख्ने विश्लेषकहरुका अनुसार वि.सं. १९९० पछिको भूकम्पीय क्षेत्रको ठूलो धक्काको रुपमा लिएको छ । यसले मुलुकका १४ जिल्लालाई प्रत्यक्ष क्षति पुर्‍यायो भने १७ जिल्लालाई आंशिक अथवा अप्रत्यक्ष क्षति पुर्‍याएको तथ्यांक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुष्टि गरेको छ ।

भूकम्पबाट क्षति पुगेका आवास तथा भवनको अवस्था :

यो विनाशकारी भूकम्पले मानवीय रुपमा १४ जिल्लाभित्र ८ हजार ७ सय ९० को ज्यान लियो भने हजारौं हजारलाई अंगभंग हुन बाध्य बनायो । त्यस्तै भौतिक रुपमा ४९ लाख ९८ हजार ८ सय ५२ निजी आवासका साथै २ हजार ६ सय ५६ सरकारी भवन पूर्ण रुपले क्षतिग्रस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्तै आंशिक रुपमा २ लाख ५६ हजार ६ सय ९७ निजी आवास र ३ हजार ६ सय २२ सरकारी भवनमा क्षति पुगेको तथ्यांकले बोलिरहँदा काभ्रे जिल्ला पनि यसबाट अछूतो रहने सम्भावना नै भएन ।

काभ्रेपलाञ्चोक जिल्लामा के कति क्षति भए भन्ने सवालमा प्राधिकरणका आधिकारिक व्यक्तित्वहरुले दिएको जानकारी अनुसार जिल्लामा भएका झण्डै ५ दर्जन सरकारी कार्यालयमध्ये ११ वटा कार्यालयका भवनमा क्षति पुगेको सम्बन्धित विभागीय इन्जिनियर प्रदीप बस्नेतले बताएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर बस्नेतका अनुसार क्षतिग्रस्त भवनहरुमध्ये रेशम खेती र मसला बालीको भवन पुनर्निर्माणभित्र परेका छन् । अन्य भवनहरु भूकम्प आउनु अगावै सरकारी निर्णय अनुसार पुननिर्माणका लागि छनौट भइसकेका र कतिपय भवनको टेण्डर प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा ति भवनहरुमा भूकम्पले क्षति पुर्‍याएको हो । त्यसका कारण काभ्रेका क्षतिग्रस्त भवनहरु प्रायः पुननिर्माणमा नपरेको इन्जिनियर बस्नेतले बताएका छन् ।

भुकम्पमा परि पुननिर्माणमा नपरेका :

यसरी विनाशकारी भूकम्पमा परेता पनि पुननिर्माणभित्र नपरेका तर नयाँ निर्माण भएका भवनहरुमा जिल्ला प्रशासन कार्यालय कृषि तथा पशु कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय र स्वास्थ्य कार्यालय छन् भने रेक्ट्रोफिटिङ्गमा परेका कार्यालयहरुमा वन कार्यालय परेता पनि उक्त भवन द्वन्द्वकालदेखि नै नेपाली सेनाले उपयोग गर्दै आएकोले नेपाली सेना आफैंले रेक्ट्रोफिटिङ गरी प्रयोग गरिरहेको छ । हाल वन कार्यालयको सेवा, भू–संरक्षण तथा जलाधार कार्यालयको भवनबाटै सेवा प्रदान गरिरहेको हँुदा त्यसको कुनै क्षतिको सम्बोधन हुन नपरेको इ. बस्नेतले बताउनुभएको छ ।

त्यस्तै रेक्ट्रोफिटिङ्ग गर्नै पर्नेमा शैक्षिक तालिम केन्द्र र मसला बालीका भवनहरु छन् भने रेशम खेतीको कार्यालय सञ्चालनमै अन्यौलता भएकोले उक्त भवन पुननिर्माण हुने नहुने सुनिश्चितता नभएको बताइएको छ । जिल्लाका सरकारी भवनका बारेमा थप जानकारी लिन आयोजना प्रमुख महालक्ष्मी जोशीसँग सम्पर्क गर्न खोज्दा कोभिड–१९ का कारण उहाँ आइसोलेशनमा रहेको हुँदा सम्पर्क हुन सकेन ।

स्वास्थ्य चौकी :

अब रह्यो, स्वास्थ्य संस्था वा स्वास्थ्य चौकीका बारेमा कोर्नु अगाडि जिल्लामा स्वास्थ्य संस्थाको अवस्था बारे केही जानकारी राख्ने जमर्काे गरेको छु । यस जिल्लामा एउटा १५ शैयाको अस्पताल (मेथिनकोट अस्पताल) जसलाई प्रदेश स्तरीय बनाउने योजना हालै प्रदेश सरकारले घोषणा गरेको छ । ४ प्राथमिक स्वास्थ्य केन्द्र, २५ स्वास्थ्य चौकी र ६४ वटा उप स्वास्थ्य चौकी गरी ९४ स्वास्थ्य संस्थाबाट प्रतिकारात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवा प्रदान गरिदै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम :

जिल्ला स्वास्थ्य कार्यालयबाट खोप कार्यक्रम, पोषण कार्यक्रम, एकिकृत बालरोग व्यवस्थापन कार्यक्रम, नवजात शिशु स्याहार कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेवक कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, औलो रोग नियन्त्रण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, कुष्ठरोग निवारण कार्यक्रम, हात्तिपाईले रोग निवारण कार्यक्रम, एच.आई.भि.एड्स तथा यौन जन्य रोग नियन्त्रण कार्यक्रम, दैनिक विरामी जाँच तथा निशुल्क स्वास्थसेवा, शहरी स्वास्थ्य सेवा, आपर्ति व्यवस्थापन कार्यक्रम आदि प्रकारका सेवा संचालन हुँदै आईरहेको छ । यो सेवा संचालनका लागि यस जिल्लामा ३ सय ६ गाउँघर क्लिनिक, ३ सय ३२ खोप क्लिनिक तथा ९ सय ८० महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेको उल्लेख छ ।

संस्थागत अपताल तथा संस्थाहरु :

यस जिल्लामा संस्थागत रुपमा सञ्चालित दुई ठुला अस्पताल धुलिखेल सामुदायिक अस्पताल काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल तथा शिर मेमोरियल अस्पतालबाट पनि उपचारात्मकताका साथै जनस्वास्थ्यका कार्यक्रम खोप, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्रदान गर्दै आएका छन् । परिवार नियोजन संघ बनेपा, परिवार कल्याण केन्द्र पाँचखाल, मेरी स्टोप्स सेन्टर बनेपा, मेरी स्टोप्स सेन्टर पाँचखाल, आई.सि.डि.नेपाल बनेपा, हामी महिला बनेपा, समाज सेवा समुह महादेवस्थान आदि गैरसरकारी क्षेत्रबाट संचालित संस्थाहरुबाट पनि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

यसैगरी नीजि क्षेत्रबाट संचालित काभ्रेपलाञ्चोक जिल्लामा कृष्ण प्रसाद अस्पताल बनेपा, एच.आर.डि.सि. बनेपा, स्पाईनल ईन्जुरी पुनस्थापन केन्द्र, बनेपा अस्पताल बनेपा, सत्य साई अस्पताल वनेपा, भैरव अस्पताल पनौती, एम.एन्. पोलिक्लिनिक पनौती, के.वि. पोलिक्लिनिक बनेपा, पाँचखाल पोलिक्लिनिक पाँचखाल आदि संस्थाहरु काम गरिरहेका छन् । उल्लेखित स्वास्थ्य संस्थाहरूमा मानव संसाधनको उपलब्धता ८१ दशमल्भ ८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

यस जिल्लामा रहेका स्वास्थ्य कार्यालय, पूर्वाधारहरु र उपलब्ध जनशक्तिको अवस्थाः

क्र.सं. सूचकहरु संख्या

१ अस्पताल संख्या (१५ सैयाको) २ संख्या
२ प्राथमिक स्वास्थ्य केन्द्र संख्या ४
३ स्वास्थ्य चौकी संख्या ८५
४ उप–स्वास्थ्य चौकी संख्या ३
५ आँखा अस्पताल १
६ जिल्ला आयुर्वेद चिकित्सालय १
७ आयुर्वेद औषधालय १
८ निजि अस्पताल ४
९ सामुदायिक अस्पताल (धुलिखेल, शीर मेमोरियल) २
१० प्रसुति केन्द्र संख्या ४१
११ महिला स्वास्थ्य स्वयंसेविका संख्या ९८०
१२ डाक्टर दरबन्दी संख्या ७
१३ मानव संसाधनको उपलब्धता (%) ६०दबमल्भ ३प्रतिशत

स्रोतः जिल्ला स्वास्थ्य कार्यालय

पुननिर्माणसँगै उब्जेका प्रश्न :

माथि उल्लेखित आधार र तथ्यांक अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्वास्थ्य चौकीमध्ये ५१ वटा स्वास्थ्य चौकीलाई २०७२ वैशाख १२ र त्यसपछिका पराकम्पनले क्षति पु¥याएको उल्लेख छ । त्यसमध्ये यि हरफहरु कोरिरहँदा ३७ वटा स्वास्थ्य चौकीले पुननिर्माणको अवसर पाएका छन् ।

जसमा जिल्लाका ७ वटा स्वास्थ्य चौकी अति सुविधा सम्पन्न पक्की भवनका रुपमा स्थापित भएका छन् । जसमा आवश्यकता परेको खण्डमा १५ शैयाको अस्पताल समेत सञ्चालन गर्न सकिने पूर्वाधार सहित बनेको छ । जुन भवनहरु टि.डि.एच.को सहयोगमा पुननिर्माण भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जसअन्तर्गत पनौती नगरपालिका वडा नं. ३, कुशादेवी, खार्पाचोक, सल्लेभुम्लु, भुम्लुटार, फलाँटे, सापिङ र माझिफेदा रहेका छन् । यि भवन निर्माणका बारेमा कहिँकतैबाट कुनै किसिमको आलोचना नआएको सम्बन्धित निकायहरुले बताएका पनि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको अनुगमनमा निर्माण भएका ३० वटा प्रिफेब भवनका बारेमा स्वयं स्वास्थ्यकर्मी र रेडक्रसप्रेमी लगायत तत्कालिन राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख प्र.अ.अ. समेतको चर्काे विरोध र असन्तुष्टि रहेको कुरा बाहिर आएकोछ ।

आफूलाई स्वास्थ्य सहयोग समितिको उपाध्यक्ष बताउने रमेश चौलागाईंको टिप्पणी छ– रेडक्रस जस्तो मानवीय संस्थामा अनियमितता भित्रिनु दुःखद पक्ष हो । स्वास्थ्य संस्था निर्माणका नाममा भएका क्रियाकलाप अत्यन्तै गैरजिम्मेवारीपूर्ण भएको मैले महसुस गरेको छु । रेडक्रस मातहतमा बनेका ३० वटै भवनहरुमा व्यापक अनियमितता भएको आरोप जनस्तरबाटै आएको छ । जसको प्रतिदर्शीका रुपमा यो स्वास्थ्यचौकीको सहयोग समितिको एउटा सदस्यको हैसियतमा टुलुटुलु हेरेर बस्नुको विकल्प रहेन । प्रिफेबका जोइनहरु फाटेका छन्, भित्रका सामानहरु कवाडीमा परिणत भएका छन्, चाहे बेड हुन् वा स्ट्याण्ड । यो स्वास्थ्यचौकीमा प्रयोग भएका कुनै पनि सामानहरु ब्राण्डेड छैनन्, सबै कवाडीबाट ल्याएको भनेर त्यतिबेलै सञ्चारकर्मीहरुले औल्याएउँदै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय अध्यक्षलाई प्रश्न गरेका थिए तर अहिले सम्म पनि अवस्था त्यस्तै छ ।

८०/८५ लाखमा बनेका यि भवनहरुको दर्दनाक अवस्था हेर्दा जोकोहीले प्रश्न गर्नु स्वाभाविकै हो । बजारमा ३ सयदेखि ४ सय प्रति मिटर पर्ने कार्पेटको बिल ४ हजारको बनेर आएको देखेपछि आफूले आपत्ति प्रकट गरेको चौलागाईंको तितो टिप्पणी थियो । विरोध त जनाएँ तर कारवाही कहिँकतैबाट भएन । यो त एउटा अनियमितताको प्रतिनिधि पात्र मात्र हो । यस्ता किसिमका अनियमितताहरु बिना संकोच फरफार भएको सुनिन्छ ? देखिहाल्नु भो ! पानीट्यांकीको अवस्था, सोलारको अवस्था जो ३ महिना टिकेनन्, अरु के भनौं भन्दै आक्रोश पोख्छन् उपाध्यक्ष चौलागाईं ।

त्यस्तै रयाले स्वास्थ्यचौकीका इन्चार्ज विष्णुहरि सापकोटाको टिप्पणी छ– अब त मेरो दिमागमा नकारात्मक शब्द नै छैन, सबै हटिसके । भोलिका सन्ततिले सरापे पनि सरापुन् । जे–जे भएका छन्, ति सबैलाई सकारात्मक रुपमा हेर्दछु । “पानी परेपछि पानी बाहिर जाँदैन, शौचालयमा ढोका बन्द गरेर शौच गर्न सकिँदैन, प्रिफेबका जोइनहरु टुटिसकेका छन् । ठाउँ ठाउँमा टेको लगाएर गुजारा टार्दैछौं के भनौं ।” यस्तै देखेको, सुनेको, भोगेको छु । अझ आवास भवन र यो भवन गरेर कुन्नी कति ८०/८५ लाख खर्च गरेको रे भन्ने सुनेको छु, नियमन गर्ने निकायले के हेरेर फरफार गरे होला बुझ्नै सकिएको छैन । “हुन त गाईगोठबाट स्वास्थ्य सेवा दिएका हामीलाई यतिको बाहिरबाट हेर्दा चिटिक्क परेको भवन पाएका छौं, टेकै दिएको भएपनि केलाई गर्नुप¥यो आलोचना ।” सबै कुरा भन्दै जाने हो भने एउटा महाभारत बन्छ । त्यसैले सबै राम्रो छ । यसैमा खुशी छौं भन्नुहुन्छ इन्चार्ज सापकोटा ।

आफू सरुवा भई परिवारसहित आएको पनि २ वर्ष भयो । सेवामा समर्पित हुने प्रणका साथ अगाडि बढिरहेको छु । आवासदेखि सामान्यतयाः सबै सुविधाहरु छन् भनिएको थियो । साना नानीसहितको बसाईं कष्टकर रुपमा बितेको पनि २ वर्ष भयो । आवास भवन छ तर सम्मुख हेरेर बित्छ भन्नुहुन्छ अ.न.मी. जानुका ढकाल । भन्न त बर्थिङ्ग सेन्टर समेत सञ्चालन गर्न सकिने भौतिक सुविधा छ भनिएको थियो तर सामान्य परीक्षणका लागि पानी पर्दा छाता ओढ्नुपर्छ । बरु पुरानो उहि बस्न नहुने भन्ने सिफारिस गरिएको भवन नै हाम्रा लागि महल भएको छ । नयाँ भवनभन्दा त कति उपयुक्त छ कति उपयुक्त छ । आवास गृहको लागेको ताल्चा खुल्दै नखोली भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेको छ । विस्तारै संरचना बिग्रँदै गएको देखेको छु । बाथरुम, शौचालयदेखि खानेपानीका संरचना समेत प्रयोग बिना नै टुटिसकेका छन् । मानवीय हिसाबमा आवासीय भवनमा बस्न सुरक्षित छैन । आफू र नानीहरु साथमै लिएर असुरक्षित भवनमै खुशीले बित्छ रात भन्नुहुन्छ अ.न.मी. ढकाल ।

अ.न.मी. ढकालका अनुसार स्वास्थ्यको मापदण्ड रतिभर मनन् गरिएको छैन । यि भवन बनेको देख्दा ! अत्यन्तै असुरक्षित संरचना र असुरक्षित स्थानमा बनेको सहजै अनुमान गर्दछु म । एक त एकान्तजस्तै भन्नुपर्छ, यो भवन बनेपछि फाटफुट घर, टहरा बन्दै आएका छन्, अर्काे रातभरि बाघ कराएर सुत्नै सकिँदैन । आफू र नानीहरु कसरी सुरक्षित रहेर उज्यालो होला भन्दै रात बित्छ । यो अवस्थामा भोलिपल्ट कसरी बिरामीको उपचार गर्न सकिएला ? तपाईं आफैं अड्कल गर्न सक्नुहुन्छ भन्दै प्रतिप्रश्न गर्नुहुन्छ अनमी ढकाल । कमजोर संरचनाभित्र अनियमितता भए या भएनन् त्यसतर्फ जाने विषय हाम्रो होइन । तत्कालिन समयका सरोकारवाला निकायले यसको जवाफ दिनुपर्छ ।

सो भवन निर्माण बारेमा स्थानीय निकायहरुको तर्फबाट पनौती नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख पुरुषोत्तम तिमल्सिनाको टिप्पणी छ– यस नगरपालिकामा पुननिर्माण अन्तर्गत २ वटा भवन बनेका छन् । एउटा कोरियन रेडक्रसको सहयोग र अर्काे टि.डि.एच.को सहयोगमा । यि २ मा आकाश जमिनको अन्तर छ, हुनु पनि स्वभाविक हो, आलोचनाको क्षेत्रमा हेर्ने हो भने कोरियन रेडक्रसको आर्थिक सहयोगमा बनेको भवनका बारेमा चौतर्फी आलोचना खनिए तर टि.डि.एच.ले बनाएको भवनमा कुनै किसिमको प्रश्न उब्जिएनन् । कोरियन रेडक्रसले भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम गरिरहँदा सञ्चारकर्मी लगायत स्थानीयको चर्काे आलोचना र प्रतिवाद सहनुपर्यो भन्नुहुन्छ इकाई प्रमुख तिमल्सिना ।

यता काभ्रेपलाञ्चोक जिल्लाभरिकै सबैभन्दा बढी भूकम्पबाट मानवीय तथा भौतिक क्षति व्यहोरेको नगरपालिका मण्डनदेउपुरका स्वास्थ्य इकाई प्रमुख दिपक घिमिरेको टिप्पणी छ– यस बारेमा नबोल्दा नै उपयुक्त ठानेको छु । ३ वर्षको अवधिमा झण्डै ३ पटक मर्मत भयो होला । कसरी गुणस्तरीय बनेछ भनेर भन्नु तर पनि त्यस बारेमा बोल्नुभन्दा नबोल्नु उपयुक्त नै लाग्छ । त्यसैले यसको जवाफ तत् तत् निकायले नै दिनेछन् भन्नुहुन्छ इकाई प्रमुख घिमिरे ।

असन्तुष्टिका बाबजुद बनेका स्वास्थ्यचौकीहरुमा फलामेटार, वाल्टिङ, घर्तिछाप, रविओपी, महेन्द्रज्योति, रयाले, चण्डेनीमण्डन, खरेलथोक, ज्याम्दी, पोखरीचौंरी, गोठपानी र सानो वाङ्थली रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निर्माण भएका भवनहरुका बारेमा राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका तत्कालिन प्र.अ.अ. हरिश्चन्द्र श्रेष्ठको टिप्पणी छ– हुन त यि योजनाहरु पुराना भइसके । अहिले आएर चासो राखिएको छ, ढिलै भए पनि राम्रो कामको सुरुवात भएको मैले महसुस गरेको छु । योजनाका बारेमा हाम्रो तहबाट टिप्पणी गरिरहनु त्यति स्वभनीय नहुन सक्छ । मैले ३ वर्ष अघि नै प्रमुख जिल्ला अधिकारी समक्ष निर्माणको सवालमा प्रयोग भएका गुणस्तरहिन सामग्रीका साथै प्रविधिका बारेमा समेत आपत्ति जनाइसकेको छु ।

यसको साक्षी स्वयम जिम्मेवार निकाय नै छन् भन्दै गुणस्तरहिन सामग्रीको प्रयोग गरेको देखेर नि नदेखेजस्तो गर्नुको पिडा तपाईं हामीले महसुस गरेका थियौं । त्यतिबेला यो योजनाको कमजोरीका बारेमा विभिन्न संचारमाध्यम मार्फत् समाचार प्रकाशित भएको थियो । प्राविधिकले समेत कमी कमजोरी भएको स्वीकारेको तथ्य ओझेलमै रह्यो, के भनौं । यसमा तपाईं हामी नै दोषी छौं भन्ने लाग्छ । हाम्रो गाउँठाउँमा हुने विकास निर्माणका बारेमा चासो नदिनु त तपाईं हामी नै होइनौं ? सबैभन्दा दोषको भागीदार स्थानीय नै हो । अब अर्काको टाउकामा दोष थोपरेर उम्किन मिल्दैन । आफ्ना बस्तीमा हुने कुनै पनि निर्माणका बारेमा सार्वजनिक लेखा परीक्षण गराउनसक्ने हैसियत स्थानीयले राख्नुपर्छ ।

मैले यसबाट महतवपूर्ण पाठ सिकेको छु । मेरो टोल छिमेकमा हुने कुनै पनि विकास निर्माणको सार्वजनिक अडिट हुँदैन भने काम पनि हुँदैन भनेर रोक्ने गरेको छु । मलाई रेडक्रसको यो योजनाले यति ठूलो पाठ सिकाएको छ । यस्तो गम्भीर त्रुटि गरिरहँदा पनि हाम्रो त के कुरो, प्रमुख जिल्ला अधिकारी समेत नाजवाफ बन्ने अवस्था आउनुले यसभित्रको अनियमितता कति होला ? कस्तो होला ? सोचनीय विषय पक्कै बनेको छ श्रेष्ठ भन्नुहुन्छ ।

रेडक्रसका बारेमा व्यापक आलोचना आएपश्चात् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सम्पर्क राख्दा हालको नेतृत्व र प्रशासन फाँटबाट सो बारेमा आफूहरु अनविज्ञ रहेको र तत्कालिन ३ जना व्यक्ति नै यो विषयमा जिम्मेवार भएको ठाडो टिप्पणी गर्नुहुँदै मन्त्री, कोषाध्यक्ष र सभापतिले के के गरे ! हामीलाई नसोध्नुस् भन्दै तिक्तता पोख्न पछि परेन जिल्ला रेडक्रसका जिम्मेवार व्यक्तिहरु । त्यो योजनासम्बन्धी कुनै कागजात जिल्ला शाखामा नभएको खुलासा समेत प्रशासक त्रिरत्न राजवाहकले बताउनुभएको थियो । ३ व्यक्तिमध्ये तत्कालिन मन्त्री उद्धव पौडेलसँग सम्पर्क राख्दा हाम्रो दायित्व अनुगमन गर्ने मात्रै हो, यो सबै योजना केन्द्रबाट नै सञ्चालित भएको हो । टेण्डर प्रक्रियादेखि बजेटिङ्गसम्मको काम केन्द्रले नै गरेको हुनाले यसमा हामी जोडिरहनु पर्दैन भन्ने लाग्छ भन्नुभयो । तत्कालीन अन्य २ व्यक्ति कोषाध्यक्ष र सभापतिसँग सम्पर्क हुन सकेन ।

विविध उठेका विषयवस्तु र अनियमितताका बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झासँग जिज्ञासा राख्दा आफू यो विषयमा अनविज्ञ रहेको बताउनुहुँदै तत्कालिन खोप अधिकृत नारायण के.सी. मार्फत् बुझ्न सक्नुहुन्छ भन्दै उहाँको सम्पर्क नम्बर दिनुभएको थियो । नारायण के.सी. जो अहिले जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । प्रस्तुत विषयवस्तुका बारेमा जिज्ञासा राख्दा के.सी.को टिप्पणी थियो– ३० वटा मध्ये १२ वटा स्वास्थ्यचौकी नेपाल रेडक्रस सोसाइटीको समन्वयमा कोरियन रेडक्रसको आर्थिक सहयोगमा बनेका हुन् । बाँकीमध्ये ४ वटा टि.डि.एच.को आर्थिक सहयोग, ४ वटा आद्रा नेपालको सहयोग र १० वटा युनिसेफको सहयोगमा बनेका हुन् भने होक्सेमा रहेको स्वास्थ्यचौकी नेपाली सेनाले बनाएको हो । बाँकी रहेका १३ वटा स्वास्थ्यचौकीमध्ये ६ वटा स्वास्थ्यचौकी जग्गा भवन अभावको कारण तत्कालिन अवस्थामा बन्न सकेका थिएनन् ।

पछिल्लो समय सम्बन्धित स्थानीय निकायले के कसरी चलाएका छन् आफूलाई थाहा नभएको र बाँकी रहेका ७ वटा स्वास्थ्यचौकी सामान्य मर्मत गरेर तिनै भवनबाट सेवा दिँदै आएको आफूलाई जानकारी भएको के.सी.ले बताउनुभयो । सवाल रेडक्रसको समन्वयमा निर्माण भएका भवनका बारेमा असन्तुष्टि र अनियमितताका जिज्ञासाहरु उठिरहेका छन् । ति असन्तुष्टि र अनियमितताका बारेमा तत्कालिन अवस्थामै आफ्नो संस्था जिल्ला स्वास्थ्य कार्यालयले आलोचना खेप्नुपरेको स्वीकार्दै स्वास्थ्य संस्थाजस्तो संवेदनशील संस्थाको भवन निर्माणको सवालमा गम्भीर लापरवाही भएको हामीले पनि स्वीकारेका हौं । सो बारेमा रेडक्रस मातहतका निकायमा ध्यानाकर्षण पनि गराएका हौं तर कुनै सुनुवाई भएन भन्नुहुन्छ अधिकृत के.सी. ।

प्रस्तुत आलोचनाका बारेमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ डिजाष्टर म्यानेजमेन्ट अधिकृत शेरबहादुर कार्कीसँग सम्पर्क राख्दा आफू दातृ निकायसँग समन्वयकारी भूमिका गर्ने बाहेक अरु महत्वपूर्ण भूमिका नभएता पनि स्वास्थ्य मन्त्रालयले भुक्तानी दिनु नभनीकन कुनै पनि निकायलाई वा कुनै पनि योजनाको भुक्तानी नगरेको स्पष्ट पार्नुभयो । यहाँसम्म कि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले आर्थिक नियमावलीभित्र रहेर काम गरेकोले कहाँ के भए ति विषयमा स्वास्थ्य मन्त्रालय नै जिम्मेवार रहेको उहाँको टिप्पणी थियो । उहाँका अनुसार आफूले डिजाष्टरद्वारा अति प्रभावित काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग लगायतका जिल्लामा यो योजना चलाएको यथार्थ हो तर अनियमितताका बारेमा आफू अनविज्ञ रहेको कार्कीको तर्क थियो ।

सहभागी समग्रको प्रस्तुतीले जिल्लाको प्रतिनिधित्व गरेको महसुस हुन्छ । प्रायः जिल्लाका १३ वटै स्थानीय निकायसँग यस बारेमा संवाद नभएको होइन । सबैको राय उस्तै उस्तै भएकोले प्रतिनिधिमूलक ढंगबाट उहाँहरुलाई संवादमा समावेश गरिएको हो । यसबाट के पुष्टि हुन्छ भने मानवीय संस्थाका रुपमा स्थापित रेडक्रस जस्तो गरिमामय संस्थामा बसेर अनियमिततामा मुछिनु उचित होइन् तर भन्ने नै रह्यो । काभ्रेपलाञ्चोक जिल्लामा विनाशकारी भूकम्पपछि सरकारी भवन र स्वास्थ्यचौकी पुननिर्माणमा देखिएको उदासिनताले समग्र पुननिर्माणलाई गिज्याइरहेको महसुस हुन्छ ।

यो अवस्थालाई मनन गर्ने हो भने पक्कै पनि पुननिर्माणको क्षेत्रमा पारदर्शी ढंगबाट काम भएछ भन्ने आधार भेट्न मुश्किलै रहेको प्रस्तुत अभिव्यक्तिहरुले पुष्टि गर्दछ । तसर्थ, यो पंक्तिकार यो निचोडमा पुगेको छ कि पुननिर्माणको क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्ने सम्बन्धित निकाय आफैंमा अल्झिएको छ ! ओझेलमा परेको छ त ! कतै नियतवश ओझेलमा पारिएको छ । अध्ययनको क्रममा देखिएका, भेटिएका प्रमाणहरुले यि कुराहरुलाई पुष्टि गर्दछन् । त्यस्तै जिम्मेवारी बहन गरेका संघसंस्थाले पनि गैर जिम्मेवारीपूर्ण ढंगबाट आफ्नो प्रस्तुती देखाएको र पुननिर्माणको नाउँमा बेइमानी नभएको भन्न भने सकिएन भन्ने निचोडमा पुगेको छु । यसको पछाडिको बलियो आधार भनेकै स्थलगत अध्ययनका क्रममा भेटिएका, पोखिएका अभिव्यक्ति हुन् । अध्ययनका क्रममा पुननिर्माणको जिम्मेवारी बहन गरेका निकाय नै कतिपय विषयमा बेखबर पाउनुले यो विषय अझ पेचिलो बन्दै छ भन्ने संकेत मिलेको छ । पुननिर्माणको क्षेत्रमा सरकारी भवन र स्वास्थ्यचौकीको निर्माणमा ५ वर्ष बितिसक्दा पनि अझै सुस्तता देखिएकोले सम्बन्धित निकायले गम्भीर चासो राख्नुपर्ने पिडितहरुको गुनासो छ ।

तसर्थ, मानवीय संवेदनशीलताभित्र जोडिएर अगाडि जानुपर्ने र मानवीयता देखाउनुपर्ने पाटो हुँदाहुँदै पनि कहिँ न कहिँ, कतै न कतै सरोकारवाला निकाय चुकेकै छ भन्ने पुष्टि भएको छ । यसर्थ, बाँकी यात्रामा पारदर्शीता, गुणस्तरीयता र सामाजिक लेखा परीक्षणमा विश्वास गरी अगाडि बढ्नु नै उपयुक्त निकास देखिएको छ ।

(लेखक ः प्रभातफेरि साप्ताहिकका सम्पादक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्