बेल टोटनहाममा फर्कने प्रक्रियामा



लन्डन, (एजेन्सी)
रियल मेड्रिडले अनावश्यक ठानेका गेरेथ बेल उनको पुरानै क्लब टोटनहाममा फर्कने प्रक्रियामा रहेका छन्। बेल शुक्रबार टोटनहामको प्रशिक्षण मैदानमा पुगेका छन्। यसले उनलाई इंग्लिस प्रिमियर लिगमा फेरि फर्काउने भएको छ। वेल्सका अन्तर्राष्ट्रिय फुटबलरले ऋणमा टोटनहाममा अनुबन्ध हुने अपेक्षा गरेका हुन्।
बेल सन् २०१३ मा ८५ मिलियन पाउन्डको विश्व कीर्तिमानी रकममा टोटनहामबाट रियल मेड्रिडमा समावेश भएका थिए। उनी त्यतिबेला धेरै नै चर्चित र महँगो खेलाडीको रूपमा स्थापित थिए। उनले स्पेनी ला लिगा विजेता रियल मेड्रिडका लागि सयभन्दा बढी गोल गरेका छन्। साथै, उनले सोही क्लबबाट ४ वटा च्याम्पियन्स लिग उपाधि पनि जितेका छन्।
टोटनहामका मेनेजर जोजे माउरिन्होले भने– ‘मैले टोटनहामको खेलाडी भनेर नबताएसम्म बेल रियल मेड्रिडकै खेलाडी हुन् भनेर महसुस र सम्मान गर्नुपर्ने हुन्छ। बोल्नुभन्दा नबोल्नु नै राम्रो हुनेछ।’
बेलका एजेन्ट जोनाथन बार्नेटले बीबीसी वेल्स स्पोर्टसँग कुराकानीमा बताउँदै भने– ‘प्रक्रिया बिस्तारै भइरहेको छ। गेरेथ मेड्रिड छाड्ने नजिक पुगेका छन्। यो पछिल्लो सात वर्षमा पहिलोपटक उनी स्पेनी क्लब छोड्ने निकटमा पुगेका हुन् । हामी अझै छलफलमा छौं, हेरौं के हुन्छ?’
यसअघि जुलाई २०१९ मा बेल चाइनजि सुपर लिगको क्लब जियान्गसु सनिङसँग अनुबन्ध हुन तयार भइसकेका थिए। अन्तिममा रियल मेड्रिडले जियान्गसुसँग सम्झौता रद्द गरेको थियो। गत सिजनमा बेलले रियल मेड्रिडका लागि केवल २० पटक खेल्न पाएका थिए। टोटनहामको पनि प्रिमियर लिगको नयाँ सिजनमा शुरुआत राम्रो भएन। एभर्टनसँग घरेलु मैदानमै खेलेको खेलमा टोटनहाम १–० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्