लाखौं डलर पर्ने चोरिएका पुस्तक बरामद



बुखारेस्ट, (एजेन्सी)
बेलायतको राजधानी लन्डनको एक भण्डारणबाट चोरी गरिएका करिब ३२ लाख डलरभन्दा बढी मूल्यका करिब २ सयवटा अमूल्य पुस्तक रोमानियाको विकट स्थानमा रहेको एउटा घरको भुइँमा गाडिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
ती पुस्तकमा नामुद वैज्ञानिकद्वय ग्यालिलियो र आइज्याक न्युटनका कामबारे लेखिएका पुस्तकको पहिलो संस्करण पनि रहेको बताइएको छ ।
सन् २०१७ को जनवरीमा चोरले अत्याधुनिक सेन्सरहरूलाई निष्कय पारेर फेल्थामस्थित सो भण्डारणको छतमा प्वाल पारेर ती पुस्तक चोरेका थिए। ती चोरहरू रोमानियाको एक संगठित आपराधिक समूहका सदस्य रहेको पत्ता लागिसकेको छ।
लन्डनको मेट्रोपोलिटन प्रहरीले यी कुख्यात समूह उच्च महत्वका भण्डार गृहहरूमा भएका शृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको दाबी गरेको छ। बुधबार उत्तर–पूर्वी रोमानियाको निम्ट क्षेत्रको एउटा घरमा छापा मार्ने क्रममा ती पुस्तकलाई भूमिगत अवस्थामा फेला पारिएको सरकारी अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्