रूसमा कोरोना उपचारमा कोरोनाविरको प्रयोग गर्न अनुमति



मस्को, (एजेन्सी)
रूसले आर फर्माको कोरोना औषधि कोरोनाविरलाई उपचारका लागि अनुमति दिएको छ। उक्त खोप कोभिड–१९ को लक्षण कम देखिएका र अस्पतालबाहिर उपचार भइरहेका बिरामीमा प्रयोग गर्न सकिने बताइएको छ।
उक्त एन्टिभाइरल ड्रग अर्को हप्ता औषधि पसलहरूमा आपूर्ति गर्न सकिने कम्पनीले घोषणा गरेको छ। कोरोनाविरलाई प्रेस्क्रिप्सन ड्रगका रूपमा अनुमति दिइएको छ। यसअघि अर्को रूसी औषधि एबिफाविरलाई पनि उपचारमा प्रयोग गर्न अनुमति दिइएको थियो। आर फर्माको यस घोषणाले रूस भाइरसविरुद्ध विश्वव्यापी भइरहेको होडमा अगाडि रहने अवसरलाई गुमाउन नचाहेको संकेत दिएको छ।
दुवै औषधिहरू फेबिपाइराविरमा आधारित छन्, जसलाई जापानले विकसित गरेको हो। जापानमा यसलाई भाइरलको उपचारका लागि प्रयोग गरिन्छ। आर फर्माले उक्त औषधिको तेस्रो चरणको क्लिनिकल परीक्षणमा १ सय ६८ जनामा औषधिको परीक्षण गरिएको जानकारी दिएको छ। जुलाईमा यसको प्रयोग अस्पतालमा गर्न अनुमति दिइएको थियो।
आर फर्माले औषधि पसलहरूसँग यसको अर्डरलाई लिएर वार्ता शुरू गरिसकेको छ। आगामी हप्ता यसको आपूर्ति हुन सक्ने कम्पनीले जनाएको छ। एबिफेविर गत जुनदेखि नै अस्पतालमा प्राप्त भइरहेको छ तर हाल यो फार्मेसीहरूलाई अनुमति दिइएको छैन।
यसबीच रूसको सेबरेन वेल्थ फन्ड (आरडीआईएफ)ले भारतमा कोरोना भाइरस खोप ‘स्पुतनिक भी’को क्लिनिकल परीक्षण तथा डिस्ट्रिब्युसनका लागि डा. रेडिडजस ल्याबसँग सम्झौता गरेको छ। दुई कम्पनीबीच भएको सम्झौताअनुसार आरडीआईएफले भारतीय कम्पनीलाई खोपको १० करोड डोज आपूर्ति गर्नेछ। आरडीआईएफका सीईओ किरिल दिमित्रिवले ‘स्पुतनिक भी’ खोप एडिनोभाइरल वेक्टर प्लेटफर्ममा आधारित भएको र यदि यसको परीक्षण सफल भयो भने नोभेम्बरसम्ममा भारतमा उपलब्ध हुने जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्